वासिङ्टन, १४ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडन र दक्षिण कोरियाली समकक्षी योन सुक न्यलले अमेरिकी पारमाणविक क्षमतायुक्त पनडुब्बी दक्षिण कोरियामा तैनाथ गर्ने लगायतका सहमति गरेका छन्।

पछिल्लो सम्झौता उत्तर कोरियाली आक्रमणको सामना गर्न अमेरिकाले दक्षिण कोरियालाई गरिरहेको सहयोग मध्येकै एक हो।

अमेरिकी सहयोग पछि दक्षिण कोरियाले परमाणु अस्त्र कार्यक्रम अघि नबढाउने सहमति गरेको छ।

वासिङ्टन घोषणा नाम दिइएको उक्त सम्झौतापछि आफ्नो देश र दक्षिण कोरियाबीच जारी सहकार्य थप मजबुत भएको अमेरिकी राष्ट्रपति बाइडनले बताउनुभयो ।

परमाणु शक्ति, साइबर सहकार्य, जलवायु परिवर्तन र युक्रेन युद्ध लगायतका विषयमा छलफल गर्न अमेरिकामै रहेका दक्षिण कोरियाली राष्ट्रपति योनलाई सँगै राखेर बाइडनले पत्रकार सम्मेलन गर्नुभएको थियो ।

साताव्यापी भ्रमणको केन्द्रमा रहेको वासिङ्टन घोषणाबारे उल्लेख गर्दै योनले अमेरिकी सहयोगीहरूलाई बाह्य आक्रमणको सामना गर्न र परमाणु अस्त्र सहित आफ्नो सैन्य शक्ति प्रयोग गर्न अमेरिकाले “अभूतपूर्व” प्रतिबद्धता जनाएको बताउनुभयो ।

उत्तर कोरियाले हालसम्मकै धेरै क्षेप्यास्त्र परीक्षण गरेसँगै बढ्दो पारमाणविक चुनौतीको चिन्तामाझ अमेरिका र दक्षिण कोरियाको यो घोषणा आएको हो।

“प्रतिकार्य क्षमता बढाउने यो कदम दक्षिण कोरियाले बढाएका गतिविधिको प्रतिक्रियामा आएको हो,” बाइडनले भन्नुभयो ।

नयाँ सम्झौताका लागि कैयौँ महिनायता छलफलहरू चलिरहेको अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीहरूले यसै साता संवाददाताहरूलाई बताएका थिए।

यो सहमति अनुसार अमेरिकाले “आफ्नो प्रतिकार्य गतिविधि थप देखिने गरी अघि बढाउने छ र सन् १९८०को दशकको सुरुदेखि नपठाएको अमेरिकी पारमाणविक बलिस्टिक अस्त्रयुक्त पनडुब्बी सहित रणनीतिक अस्त्रहरू नियमित रूपमा दक्षिण कोरिया पठाउने छ,” अमेरिकी अधिकारीहरूले यसै साता संवाददाताहरूसँग भनेका छन्।

दुवै पक्षले रणनीतिक योजनाबारे छलफलका लागि एउटा पारमाणविक परामर्श समूह पनि बनाउने भएका छन्।

दक्षिण कोरियाका राजनीतिज्ञहरूले लामो समयदेखि उत्तर कोरिया विरुद्ध कहिले र कुन अवस्थामा परमाणु अस्त्र प्रयोग गर्ने भन्नेबारे अमेरिकी योजनामा आफूहरूलाई पनि सहभागी गराउन वासिङ्टनलाई दबाब दिइरहेका थिए।

उत्तर कोरियाले आफ्नो परमाणु अस्त्रको सङ्ख्या र क्षमता विस्तार गरिरहँदा दक्षिण कोरियामा भने अमेरिकी राष्ट्रपति बाइडनले आफूलाई थाहै नदिई परमाणु अस्त्र चलाउने चिन्ता बढिरहेको थियो।

अमेरिकाले यो मामिलामा आफ्नो देशलाई बेवास्ता गर्ने चिन्तामाझ दक्षिण कोरियाले आफ्नै परमाणु अस्त्रहरू विकास गर्नुपर्ने माग भइरहेको थियो।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर