जाजरकोट, ५ भदौ । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । जुनीचाँदे गाउँपालिका –६ डोग्रामा डोग्राखोलामा आएको बाढीमा परेर स्थानीय ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता हुनुभएको हो ।
यस्तै, शुक्रबार बिहान करिब २ बजे परेको अविरल वर्षाका कारण खोला थुनिएर जम्मा भएको पानी एक्कासि फुट्दा पानीघट्ट सञ्चालन गर्न जानुभएका सिंह सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक बुद्धीसागर पुरीले जानकारी दिनुभयो ।
त्यस्तै, सोही वडाको छिर्का टोलकी करिब ३९ वर्षीया रचना थापा बुधबार साँझ करिब ७ बजे गोठबाट घरतर्फ फर्कने क्रममा सेती खोलाले बगाउँदा बेपत्ता हुनुभएको छ। घटनाबारे बिहीबार बिहान करिब १० बजे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।
बाढीले सोही क्षेत्रमा रहेका आठदेखि १० वटा पानीघट्टसमेत बगाएको प्रहरीले जनाएको छ। दुवै बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
