तेहरान, भदौ ४ गते । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आर्थिक दबाब बढाउने घोषणा गर्नुभएको विषयलाई असफल नीतिको निरन्तरता भन्दै आलोचना गर्नुभएको छ । उहाँले अमेरिकी दबाबले इरानलाई झुकाउन नसक्ने र यसबाट वासिङ्टनले थप पराजय भोग्ने दाबी गर्नुभएको छ ।
अराघचीले सामाजिक सञ्जाल एक्समा अमेरिकी कदमलाई अभूतपूर्व ऋण र बढ्दो ब्याज लागतको सामना गरिरहेको अमेरिकाको आफ्नै आर्थिक सङ्कटबाट ध्यान मोड्ने प्रयासका रूपमा व्याख्या गर्नुभयो । उहाँले अमेरिकी आर्थिक प्रतिबन्धले विश्व अर्थतन्त्र र राष्ट्रको सार्वभौमसत्तासमेत जोखिममा पार्ने बताउनुभयो ।
यसअघि राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमार्फत इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक कारबाही घोषणा गर्न लागेको बताउनुभएको थियो । उहाँले इरानलाई आर्थिक वा अन्य कुनै प्रकारको सहयोग उपलब्ध गराउने वित्तीय संस्था, व्यवसाय, विमानस्थल तथा सरकारी निकायले समेत गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।
फेब्रुअरी २८ मा अमेरिका-इजरायलको आक्रमणपछि इरान र अमेरिकाबिच युद्ध सुरु भएको थियो । अप्रिल ८ को युद्धविरामपछि व्यापक बमबारी रोकिए पनि महत्त्वपूर्ण ऊर्जा मार्ग हर्मुज जलघाँटी आसपास तनाव जारी रहेको जनाइएको छ । इरानले आफ्ना बन्दरगाहमाथिको नाकाबन्दी हटाउनुका साथै तेल प्रतिबन्ध फुकुवा र विदेशमा रोक्का गरिएका सम्पत्ति खुला नगरेसम्म जलमार्ग बन्द राख्ने अडान लिँदै आएको छ ।
राष्ट्रपति ट्रम्पले लामो समयदेखि इरानमाथि ‘अधिकतम दबाब’ को आर्थिक प्रतिबन्ध नीति अपनाउँदै आउनुभएको छ । उहाँले जनवरी २०२५ मा दोस्रो कार्यकाल सम्हालेपछि उक्त नीति पुनः लागू गर्नुभएको थियो । इरानले भने प्रतिबन्ध र धम्कीबाट आफ्नो नीति परिवर्तन नहुने बताउँदै अमेरिकी दबाब अभियानलाई असफल नीति भन्दै आएको छ ।
