खार्तुम, १० जेठ मानवीय सहायताका कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि सुडानमा हिंसा रोकिएको छैन।

स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् कि राजधानी खार्तुमका साथै वरपरका क्षेत्रमा हवाई हमला र झडप जारी नै छ ।

यसअघिका युद्धविराम सम्झौता पूर्णतः कार्यान्वयन नभएकाले मंगलबारदेखि प्रारम्भ भएको युद्धविरामका बेला पनि झडपका घटना भैरहेका हुन् ।

नर्वेली शरणार्थी परिषद्का कार्ल स्केम्बरीले आधिकारिक घोषणालाई युद्धरत पक्षले वेवास्ता गर्दै गोली प्रहार र बमबारीका घटना जारी राखेका तथा त्यसले लाखौँ नागरिकको ज्यान जोखिममा पारेको ट्वीटरमा लेखेका छन् ।

विगतका वाचा पालना नहुँदा मानवीय सहायताकर्मी, बालबालिका र अन्य मारिएका तथा अस्पतालहरू ध्वस्त भएकामा उनले दुःख व्यक्त गरेका छन् ।

अप्रिल १५ देखि सुडानका सैन्य प्रमुख अब्देल फताह अलबुरहानको नेतृत्वमा सेना र उनका पूर्वसहायक मोहम्मद हमदान डग्लो नेतृत्वको अर्धसैनिक सपोर्ट फोर्सबीचको युद्धमा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने पाँच हजारभन्दा बढी घाइते भएका छन् ।

दश लाखभन्दा बढी भाग्न बाध्य भएका छन् ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

बुरहान र डगालोबीच आरुएसएफलाई सरकारी सेनामा समाहित गर्ने विषयमा पनि सहमति नहुँदा आपसी मनामालिन्य बढेको छ ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ ।

आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ । रासस/ एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर