काठमाडौँ, ३१ भदौः सन्तनेता कृष्णप्रसाद भट्टराई ९किसुनजी०को ललितपुर, ठैव बाडेगाउँ स्थित आश्रमको अवलोकनका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यजीको पहलमा भाई प्रमोद भट्टराई सहित आज दिउसो ९३० भाद्र २०८२० त्यहाँ पुग्दा आश्रमको दृष्य अत्यन्त हृदयविदारक देखियो । अतिवादीहरुको जत्थाले भाद्र २४ गते अपरान्ह एक बजेतिर आश्रममा समेत पुगेर बितन्डा मच्चाएछन् । सन्तनेताले आफ्ना सम्पत्तिका नाममा देशका भावी पिढीका लागि छाडेर जानुभएका र जतनकासाथ राखिएका, दुइ–दुइ पल्ट देशको प्रधानमन्त्री भएर सरकारी निवासमा जाँदा र फिर्ता आउँदा पनि संगै लगेर ल्याउनुभएका वहाँका बाकस ९ट्यांका०, छाता र सुराहीका साथ साथै वहाँका सम्पूर्ण नोटबुक र डायरीहरु, अप्राप्य पुस्तक र अभिलेखहरु, संकलित फोटोहरुका साथै वहाँले प्रत्येक दिन विहान वाचन गर्ने श्रीमद्भागवत गीताको पुस्तक र अन्य धार्मिक पुस्तकहरु, जतनकासाथ राखिएका वहाँका व्यक्तिगत उपयोगका सम्पूर्ण बस्तुहरुलाई आगो लगाएर ध्वस्त बनाएछन्, साधु सन्त विशिष्ठ पाहुनाहरुका लागि बनाइएका अतिथि कोठाहरु, ध्यान तथा प्रार्थना कक्षहरुलाई समेत आगो लगाएर सम्पूर्णतः ध्वस्त गराएछन् । आँगनमा स्थापना गरिएको किसुनजीको पूर्णकदको सालिकलाई धूलो बनाएछन् ।
पन्चायतकालको प्रतिबन्धित कालदेखि नै किसुनजीले पार्टीको कामका लागि चढ्नु हुने ऐतिहासिक जीपलाई आगो लगाएर ध्वस्त बनाएछन्, सरकारले आश्रमका लागि दिएको गाडीलाई पनि आगो लगाएछन् – सम्पूर्ण आश्रमलाई एउटा खण्डहरको रुपमा परिणत गरेछन् । किसुनजीको लागि सरकारले नै निर्माण गरिदिएको र सरकार कै स्वामित्वमा रहीरहेको आश्रमको दृष्यले जोकोहीलाई पनि द्रविभूत बनाउँछ ।
‘इतिहासका लागि सत्य सुरक्षित राख्नुपर्छ, पस्कनु पर्दछ’, प्रशिद्ध पत्रकार सन्जय बारुले आफ्नो बहुचर्चित पुस्तक ‘दि एक्सिडेन्टल प्राइममिनिस्टर’मा उल्लेख गरेका छन् । यसैगरी ‘कुनै राष्ट्रलाई बिगार्नु छ भने सबैभन्दा पहिले यसको ऐतिहासिक भाष्यलाई बिगार्नु पर्दछ’ भन्ने चीनीया भनाई छ । धन्य, किसुनजी सम्बन्धि अध्ययनका लागि विवरण संकलन गर्ने सिलसिलामा मैले झन्डै एक वर्ष पहिले आश्रममा किसुनजीका केही नोटबुक, डायरी तथा अभिलेख अध्ययन गर्ने मौका पाएको थिएं, केही तस्वीरहरु खिचेको थिएं ।
देशमा लोकतन्त्रको स्थापनाका लागि झन्डै १५ वर्ष जेलजीवन बिताएका, भ्रष्टाचारमुक्त सुशासनका लागि राजनीतिमा इमान्दारी, नैतिकता, र अत्यन्त सरल जीवन सैलीको प्रतिमूर्तिका रुपमा स्थापित, राजनीतिलाई आध्यात्मिक तहसम्म पु¥याई राजनीति र अध्यात्म बीचको सन्तुलनको बेजोड “मोडेल”का लागि आदर्शका रुपमा स्थापित किसुनजी प्रति किन यत्रो आक्रोश पोखियो, रहस्यको विषय भएको छ ।
-बिनोद कुमार भट्टराईको फेसबूक वालबाट
