पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन् ।
पाँचथर जिल्ला अदालतमा गत आव २०८२/०८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । सोही आवमा अदालतमा अघिल्ला आव २०८१/०८२ बाट २४६ वटा मुद्दा सरेर आएकामा ८७ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । यसरी एकै आवमा जिल्ला अदालतमा कूल ४७१ वटा सम्बन्ध विच्छेदका मुद्दा सुनुवाइको सूचिमा परेका थिए । जसमध्ये १६७ वटा मुद्दा मेलमिलापबाट टुङ्गिएका छन् । मेलमिलाप भएका अधिकांश मुद्दामा सम्बन्ध विच्छेद भएको पाँचथर जिल्ला अदालतका तहसिलदार एवम् सूचना अधिकारी सरस्वती नेम्बाङले जानकारी दिइन् ।
