म्यान्मार, १४ चैत । म्यान्मारको सैन्य सरकारका प्रमुखले देशभित्र सशस्त्र प्रतिरोध गरिरहेका समूहहरूको गतिविधिलाई “आतङ्कू को सङ्ज्ञा दिँदै उनीहरूमाथि निर्णायक कारबाही गर्ने घोषणा गरेका छन्।
सेनाप्रमुख मिन ओङ ह्लाइङले म्यान्मारमा मानवाधिकारको अवस्थाबारे प्रश्न उठाउने देशहरूलाई पनि आतङ्कको मतियार भएको आरोप लगाएका छन्।
एउटा दुर्लभ भाषणामा उनले ती देशहरूले बरु सेनालाई म्यान्मारको ूमौलिक प्रजातन्त्रूलाई एउटा स्वरूप दिन सघाउनुपर्ने धारणा व्यक्त गरे।
सन् २०२१ मा सेनाले देशको शासनसत्ता फेरि आफ्नो हातमा लिएपछि म्यान्मारमा गृहयुद्ध चर्किएको छ।
गृहयुद्धमा दशौँ हजारको ज्यान गइसकेको छ भने १० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन्।
देशमै हतियार उत्पादन गर्न सेनालाई विश्वव्यापी कम्पनीको साथ
राजधानी नेप्यिडमा आयोजत वार्षिक सैन्य परेडका अवसरमा सम्बोधन गर्दै ६६ वर्षीय जेनरल मिन ओङ ह्लाइङले एउटा विशेष सन्देश दिए ः जस्तोसुकै क्षति भए पनि म्यान्मारको सेनाले आफ्नो शासनको विरोध गर्नेहरूविरुद्धको लडाइँ रोक्नेछैन।
उनले “मानिसहरूको हित समाप्त गर्न खोज्ने आतङ्ककारीहरूविरुद्ध लड्न महत्त्वपूर्ण सहरहरूमा” सैन्य कानुन कडाइपूर्वक लागु गर्ने उद्घोष गरे।
उनले देशमा निर्वाचन हुने र निर्वाचित भएर आउने पक्षलाई सत्ता हस्तान्तरण गर्ने दाबी गरे पनि म्यान्मारमा जारी द्वन्द्वका कारण कहिले चुनाव हुन्छ भन्ने निश्चित छैन।
केही मानिसले सोमवार सेना र सैन्य शासकको प्रतीकात्मक विरोध गरेका थिए
जापानको आक्रमणविरुद्ध लड्न दोस्रो विश्वयुद्धताका स्थापना भएको म्यान्मारको राष्ट्रिय सेनाले स्थापनाको ७८ औँ वार्षिकोत्सव मनाउन आयोजना गरेको परेडलाई ह्लाइङले सम्बोधन गरेका हुन्।
पछिल्ला वर्षहरूमा म्यान्मारले आफ्नो सैन्य परेडलाई विशेष महत्त्व दिन थालेको छ।
बाँकी विश्वबाट टाढिँदै गए पनि म्यान्मारको सैन्य शक्तिले विद्रोहीहरूविरुद्ध अझ बढी घातक कारबाही गरिरहेको छ।
यद्यपि राजधानीभन्दा ५० किलोमिटर परका क्षेत्रहरूसम्म कतिपय विद्रोही समूह सक्रिय देखिन्छन्।
विभिन्न अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद पनि म्यान्मारले चीन र रुसबाट समर्थन पाइरहेको छ। सैन्य परेडमा ती दुवै देशका प्रतिनिधिहरू पनि सहभागी भएका थिए।
रुसी लडाकु विमान मी३५ सँगै चिनियाँ के८ विमान तथा हालै बेइजिङसँग खरिद गरिएको एफटीसी२००० जेट पनि म्यान्मारको सेनाले परेडका क्रममा प्रदर्शन गरेको थियो।
सैन्य कूपछि विद्रोहीहरूको प्रभाव भएका क्षेत्रमा धेरै यस्ता अस्त्रहरू प्रयोग भएका छन् र तिनका कारण सर्वसाधारण नागरिक र बालबालिकाको पनि मृत्यु भएको छ।
म्यन्मारमा निर्वाचित सरकार अपदस्थ गरेर उदाएका सैन्य नेतालाई सलामी दिने सैन्य एकाइहरूमा देशमा सर्वसाधारणको नरसंहार गरेकोसहित विभिन्न अत्याचार गरेको आरोप लागेका अधिकारीहरू पनि सहभागी थिए। तिनका कारण म्यान्मारले अन्तर्राष्ट्रिय प्रतिबन्ध र निन्दाको सामना गरिरहेको छ।
गत शुक्रवार मात्रै संयुक्त राज्य अमेरिकाले म्यान्मारमाथि थप प्रतिबन्धहरूको घोषणा गरेको थियो।
सेनाले यातना दिएर कैयौँ व्यक्तिलाई मारेको खुलासा सर्वसाधारण मानिसहरूको बाक्लो बसोबास क्षेत्रमा हवाई आक्रमण गरिएको भन्दै नयाँ अमेरिकी प्रतिबन्ध जेट इन्धनको आपूर्तिलक्षित छन्।
अन्य पश्चिमा देशहरूसँगै अमेरिकाले म्यान्मारको सैन्य सरकारका सदस्यहरूमाथि यसअघि नै प्रतिबन्ध लगाएको छ।यहाँको सेनाको आर्थिक स्रोत कम गर्न भन्दै सेनाले सञ्चालन गरेका कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ।बीबीसी
