काठमाडौँ, ३ असोजः संविधान रक्षार्थ माइतीघरमा युवाहरूले शान्तिपूर्ण भेला गरेका छन् । संविधान दिवसका अवसरमा ‘जेनजी’ समूहका युवाहरूले भेला गरेका हुन् ।

युवाहरूले संविधानभन्दा माथि कोही पनि नरहेको र अब देशको निकास संविधानबाटै खोजिनुपर्ने धारणा राख्नुभयो । वक्ताहरूले संविधानकै छत्रछायाँमा रहेर अघि बढ्ने र अब आउने चुनावमा योग्य व्यक्ति मात्र चुनिने अवस्था बनाइने बताउनुभयो ।

अधिवक्ता हरिशप्रसाद भट्टले संविधानको पालना गर्दै सुधार गरेर जानुपर्ने बताउनुभयो । उहाँले ‘जेनजी’ले सुधारका लागि रगत बगाएकाले संविधानकै सीमाभित्र रहेर त्यो सम्भव रहेको धारणा राख्नुभयो । “नयाँ परिस्थितिमा संविधान दिवस मनाइराख्दा संविधानमा भएका रिक्तता, कमजोरी र यसमा गर्नुपर्ने सुधारबारे छलफल आवश्यक छ । शासकीय स्वरुप, निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने छ । संविधानभन्दा बाहिर गएर कुनै पनि सुधार हामीले चाहेका होइनौँ”, भट्टले भन्नुभयो ।

अधिवक्ता मनिष खनालले संविधानभन्दा माथि कोही पनि नभएको र संविधानमै रहेर अगाडि बढ्नुपर्ने दाहो¥याउनुभयो । उहाँले भन्नुभयो, “जति पनि सुधार गर्नुपर्नेछ तिनलाई यही संविधानमा रहेर सुधार गरेर जान्छौँ भनेका छौँ । जुन जनविद्रोह थियो, त्यसले दुई दिनमा नै संविधानमा भएका व्यवस्था पल्टाउन सक्ने भनेर ‘न्यारेटिभ सेट’ गर्न खोजियो त्यो सम्भव छैन । हाम्रो आन्दोलन लामो छ । छ महिनाको सङ्क्रमणकालीन समय छ । चलखेल हुनसक्छ । यसलाई रोक्न पनि सचेत हुनुपर्नेछ ।”

युवाहरूले परिवर्तनको चाहनालाई सबै मिलेर सम्हालिँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर