काठमाडौँ, २२ वैशाख । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ ।

गत वर्षभन्दा यो वर्ष सङ्क्रमण फैलिने दर उच्च भएकाले सङ्क्रमित थपिरहेको अस्पतालले जनाएको छ । एक सातायता दिनमा एकदुईजना देखिएकामा आज एकै  दिन   बढी  सङ्ख्या  देखिएको अस्पतालका प्रवक्ता डा कृष्णप्रसाद विष्टले बताउनु  भयो । उहाँले भन्नुभयो, “सङ्क्रमण सबैतिर बढिरहेमा  यहाँ पनि बढ्न सक्छ ।”

कोभिडकै उपचारका लागि तोकिएको अस्पताल नभएकाले अरू स्वास्थ्य समस्या लिएर आएका बिरामीको परीक्षण गर्दा कोभिड पाइएको  अस्पतालले जनाएको छ । रुघा, खोकी, ज्वरो, निमोनिया भएर आएका ती बालबालिकामा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा विष्टले बताउनुभयो ।

अस्पतालले कुनै पनि बालबालिका अस्पताल छिर्नासाथ ज्वरो हेर्न ‘फिबर क्लिनिक’ को व्यवस्था गरेको छ । कोभिडसँग मिल्दो लक्षण भएका शङ्कास्पद बिरामीलाई छुट्टै वार्डमा राखिने गरिएको प्रवक्ता डा विष्टले बताउनुभयो । बालबालिकाको रिपोर्ट पोजेटिभ भएमा कोभिडका लागि छुट्याइएको श्ययामा उपचार गरिन्छ । सङ्क्रमित नभएको पाइएमा अरू सामान्य श्ययामा उपचार गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि अस्पतालमा कोभिडभन्दा अरू बिरामी धेरै छन् ।”

देशभर जम्मा सङ्क्रमित बढेपछि त्यसमा बालबालिकाको सङ्ख्या पनि बढेको छ । सरकारी तथ्याङ्कमा जम्मा सङ्क्रमितमध्ये बालबालिका सङ्ख्या एकदेखि दुई प्रतिशत बढेको उल्लेख छ । अहिलेसम्म अस्पताल आएकामा जटिल समस्या भएका बालबालिका नभएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अरू उमेर समूहजस्तै बालबालिका पनि धेरै ‘होम आइसोलेशन’ मा रहेको हुनसक्ने देखिएको छ ।

गत वषजस्तै बालबालिकामा सङ्क्रमण हुँदा रुघाखोकी, पखाला, जीउ दुख्नेलगायत लक्षण बढी मात्रामा देखिरहेको छ । बालबालिकामा समस्या आएमा अस्पताल लगे पनि सामान्य अवस्थामा घरमा नै राखेर हेरचाह गर्न सकिने प्रवक्ता डा विष्टको सुझाव छ ।

अहिले विद्यालय बन्द भएकाले धेरै बालबालिका घरमै छन् । उनीहरुलाई अरूभन्दा आफ्नै अभिभावकबाट सङ्क्रमण सर्ने सम्भावना बढी छ । बालबालिकालाई कोभिडबाट बचाउन अभिभावक आफैँ सुरक्षित हुनुपर्ने डा विष्टको सुझाव छ । आफू विवाह, व्रतबन्धलगायत भीडभाडमा नजाने र कतै अत्यावश्यक कामका लागि हिँड्नुपर्दा सुरक्षाको मापदण्ड अपनाउनुपर्छ ।

बालबालिकालाई यो समयमा पनि नियमित लगाउने खोप लगाउनुपर्ने उहाँको सुझाव छ । अभिभावकले पनि कोभिड विरुद्धको खोप उपलब्ध भएसम्म लगाउन आवश्यक छ । बालबालिकालाई सामान्य ज्वरो र खोकी हुँदा घरमा नै औषधि खुवाएर राख्न सकिन्छ । उहाँले भन्नुभयो, “तर उनीहरुलाई सास फेर्न गाह्रो भएमा, ज्वरो उच्च भएमा, बेहोस हुने र सास फेर्न समस्या हुँदा अस्पताल लैजानुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर