सुवा (फिजी), २२ साउन । चीनले हालै गरेको आणविक क्षमता भएको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आइसीबीएम) परीक्षणप्रति संयुक्त प्रतिक्रिया दिने विषय प्रशान्त क्षेत्रका राष्ट्रबिच विवादको विषय बनेको छ ।
फिजीको राजधानी सुवामा शुक्रबार सुरु भएको प्रशान्त द्वीपीय राष्ट्रको विदेशमन्त्री स्तरीय बैठकमा न्युजिल्यान्ड, टुभालुलगायत केही देशले कडा संयुक्त वक्तव्य जारी गर्न दबाब दिए पनि चीनसँग निकट सम्बन्ध भएका केही सदस्य राष्ट्रको असहमतिका कारण सहमति जुट्न कठिन देखिएको छ ।
बेइजिङले गत महिना आफ्नो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण अघि केही प्रशान्त राष्ट्रलाई मात्र छोटो सूचना दिएको थियो । पर्यवेक्षकका अनुसार उक्त क्षेप्यास्त्र सोलोमन टापु, नाउरू र टुभालुबिचको समुद्री क्षेत्रमा खसेको थियो । यस घटनापछि प्रशान्त क्षेत्रका धेरै नेताले चिन्ता व्यक्त गरे पनि १८ सदस्यीय प्रशान्त द्वीपीय फोरम (पिआइएफ)ले हालसम्म औपचारिक संयुक्त धारणा सार्वजनिक गर्न सकेको छैन ।
न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले परीक्षणको स्पष्ट निन्दासहित साझा वक्तव्य जारी गर्नुपर्नेमा जोड दिनुभयो । बैठक अघि सञ्चारकर्मीसँग उहाँले खुला छलफलमार्फत सदस्य राष्ट्र तर्क र साझा हितका आधारमा अघि बढ्ने वा पूर्वनिर्धारित अडानमै रहने भन्ने कुरा स्पष्ट हुने बताउनुभयो ।
ताइवानसँग कूटनीतिक सम्बन्ध रहेको टुभालुले पनि संयुक्त वक्तव्यको आवश्यकता औँल्याउँदै क्षेप्यास्त्र परीक्षण अघि आफूलाई औपचारिकरूपमा जानकारी नगराइएको जनाएको छ । टुभालुका विदेश मामिला, श्रम तथा व्यापार मन्त्रालयका स्थायी सचिव पासुना तुआगाले कुनै पनि शक्तिबाट डराएर बस्न नचाहेको र सम्पूर्ण प्रशान्त क्षेत्रबाट स्पष्ट तथा बलियो सन्देश जान आवश्यक रहेको बताउनुभयो ।
उहाँका अनुसार क्षेप्यास्त्र टुभालु नजिकैको समुद्री क्षेत्रमा खसेको थियो । त्यसमा प्रयोग गरिएको अभ्यासात्मक वारहेडको खोजीका लागि टुभालुले अमेरिका र चीनसहित विभिन्न देशसँग सहयोगसमेत मागेको जानकारी दिनुभयो । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले पनि बैठक अघि प्रशान्त क्षेत्रका अधिकांश राष्ट्रले चीनको क्षेप्यास्त्र परीक्षणप्रति स्पष्ट चिन्ता व्यक्त गरिसकेको उल्लेख गर्दै बेइजिङले त्यस सन्देशलाई गम्भीर रूपमा लिने अपेक्षा व्यक्त गर्नुभयो ।
यद्यपि चीनसँग निकट सम्बन्ध रहेका किरिबाटी, नाउरू र भानुआटुले बेइजिङको औपचारिक आलोचना गर्ने विषयमा उत्साह नदेखाएको कूटनीतिक स्रोतले बताएका छन् । बैठकबाट क्षेत्रीय सुरक्षाको आवश्यकता औँल्याउने तर चीन वा क्षेप्यास्त्र परीक्षणको नाम उल्लेख नगर्ने साझा वक्तव्य जारी हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।
यो बैठकलाई आगामी सेप्टेम्बरमा पलाउमा हुने प्रशान्त द्वीपीय फोरमका राष्ट्र अध्यक्ष तथा सरकार प्रमुखको शिखर सम्मेलनको तयारीका रूपमा पनि हेरिएको छ । बैठकमा पलाउ सम्मेलनमा कुन–कुन साझेदार राष्ट्रलाई सहभागी गराउने भन्ने विषयमा पनि छलफल भइरहेको छ । गत वर्ष चीनले ताइवानलाई सहभागी नगराउन दबाब दिएपछि सोलोमन टापुमा भएको शिखर सम्मेलनमा सबै साझेदार राष्ट्रको सहभागिता स्थगित गरिएको थियो ।
पलाउ भने ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम राख्ने सीमित राष्ट्र मध्ये एक हो । विदेशमन्त्री पिटर्सले प्रशान्त क्षेत्रमा बाह्य शक्तिको प्रभाव बढ्दै गएको उल्लेख गर्दै यस क्षेत्रको निर्णय प्रक्रियामा बाहिरी हस्तक्षेपप्रति सदस्य राष्ट्र सतर्क रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । एएफपी
