दाङ, १९ वैशाख ।   तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ ।

मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र कृष्ण परियारका छ वर्षीय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

यही वैशाख १६ गते बालकहरु हराएको र खोजी गरिदिन भनी इलाका प्रहरी कार्यालय तुलसीपुरमा निजका अभिभावकले वैशाख १७ गते निवेदन पनि दर्ता गराएका थिए । अहिले शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटना के कसरी भयो भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी नभएको र अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहित विशेषज्ञ टोली गए राति नै आएको तुलसीपुर इलाका प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।

उक्त कार सो स्थानमा विगत सात महिनादेखि पार्किङमा रहेको र कारका धनी यादव गैरेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा झिकाइएको प्र्हरीले जनाएको छ ।

मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दाबी गर्दै हत्यारा पक्राउ गरी कार्वाही गर्न माग गरेका छन् ।

उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र २०७७ माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको  प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर