युक्रेन, १२ फागुन । युक्रेनले एक महिनाभन्दा केही बढी समयमै दोस्रो रुसी ए ५० जासुसी विमान खसालिदिएको दाबी गरेको छ।

उक्त सैन्य विमानलाई रुसी सहर रोस्तोभ अन दोन र क्रास्नोदा बीचमा प्रहार गरिएको युक्रेनी सैन्य स्रोतहरूले जनाएका छन्।

उक्त स्थान अग्रमोर्चाभन्दा झण्डै २०० किलोमिटर पर हो।

विभिन्न विवरणहरूका अनुसार आपत्कालीन सेवाहरूले विमानका टुक्राहरू फेला पारेका छन् र त्यसमा लागेको आगो निभाएका छन्।

शनिवार रुसले युक्रेनमा पूर्ण आकारको हमला सुरु गरेको दुई वर्ष पुगेको छ। युक्रेनी हवाई बलका प्रमुख मिकोला ओलेस्चुकले आफ्ना सेवा र सैन्य गुप्तचरलाई विमान खसाल्न सहयोग गरेकामा धन्यवाद दिएका छन्।

उक्त लामो दूरीको रेडार पत्ता लगाउने विमान शुक्रवार एक प्रमुख रुसी सैन्य बिदाका बेला पारेर खसालिएको थियो।

ओलेस्चुकले टेलिग्राममा लेखेका छन् पितृभूमिको रक्षा गर्ने दिनमा अतिक्रमणकारीहरूलाई बधाई।

अनलाइनमा साझा गरिएका भिडिओमा आकाशमा विमानलाई प्रहार गरेर खसालिएको देखिनुका साथै दुर्घटनापछि बाक्लो मुस्लो र कालो धूवाँ फैलिएको देखिन्छ।

किएभलाई सैन्य सहायता दिन ढिलो भइरहँदा रुसले त्यसको लाभ उठाइरहेको एक युक्रेनी अधिकारी बताउँछन्

विमान खसेको रुसी क्षेत्रका आपत्कालीन अधिकारीहरूले पछि एउटा विमान कानिभ्स्कोए जिल्लाको ट्रुडोभाया आर्मेनिया गाउँमा दुर्घटना भएको र त्यसमा लागेको आगो निभाइएको बताएका छन्। उनीहरूले थप विवरण दिएका छैनन्।

यसैबीच रुसी सैन्यसँग सम्बन्ध भएको कम्तीमा एक टेलिग्राम च्यानलले उक्त विमान आफ्नैतर्फबाट भएको प्रहार लागेर खसेको हुनसक्ने जनाएका छन्।

फाइटरबमरले लेखेका छन् अहिलेको अवस्थामा कसले खसालेको हो भन्ने थाहा छैन। यसअघि युक्रेनले १४ ज्यानुअरीमा एक ए ५० विमान खसालेको दाबी गरेको थियो।

यूकेको रक्षा मन्त्रालयको यसअघिको एक ब्रीफिङमा रुससँग सम्भवतः छवटा ए ५० विमान प्रयोगमा रहेका हुन सक्छ्न्। ती विमानले हवाई प्रतिरक्षा क्षेत्रहरू पत्ता लगाउँछन् र रुसी जेटहरूलाई आक्रमण गर्ने लक्ष्यहरू देखाउन समन्वय गर्छन्।

त्यस्ता विमान निर्माणका लागि सयौँ करोड अमेरिकी डलर खर्च हुने बताइन्छ। देशका दक्षिण पूर्वी क्षेत्रमा युक्रेन पछिल्लो समय उल्लेख्य रूपमा अगाडि बढ्न सकिरहेको छैन।

गत महिनाको घटनामा युक्रेनी सैन्य अधिकारीहरूले एक आईएल २२ कन्ट्रोल सेन्ट्रल विमानका साथै एउटा ए ५० लाई नष्ट पारिएको बताएका थिए।

रुसी राष्ट्रपतिको पूर्ण आकारको अतिक्रमण सुरु भएको दुई वर्ष पूरा भइरहँदा अहिले युक्रेनी सहरहरूमा थप रुसी हमलाहरू भइरहेका छन्।

एक जना बीबीसी संवाददाता युक्रेनमा एक वर्ष अघिभन्दा थप निराश माहोल रहेको बताउँछन्।

एक युक्रेनी अधिकारीले युक्रेनलाई सैन्य सहायता दिन ढिलो भइरहँदा रुसले त्यसको लाभ उठाइरहेको बताएका छन्।

शनिवार युक्रेनी राष्ट्रपतिले युक्रेनमा विदेशी नेताहरूका सान्त्वना दिने शब्द र भ्रमणहरू भइरहेका तर आफूहरूलाई अस्त्रको आवश्यकता रहेको बताएका छन्।

उक्त द्वन्द्वको मूल्य भयानक छ। दुवै पक्षमा हजारौँ सैनिकहरू मारिएका छन्। हजारौँको सङ्ख्यामा युक्रेनी सर्वसाधारणको समेत युद्धका क्रममा मृत्यु भएको छ। विश्व ब्याङ्कको अनुमान अनुसार युक्रेनी अर्थतन्त्रलाई पुनरुत्थान गर्न पाँच सय अर्ब डलर लाग्नेछ।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर