ताइवान, २९ पुस । ताइवानका मतदाताहरूले उक्त टापुको सार्वभौमसत्ताको पक्षधर रहेका उम्मेदवार विलियम लाईलाई एउटा ऐतिहासिक निर्वाचनमा राष्ट्रपतिका रूपमा चुनेका छन्।
उक्त मतलाई चीनभन्दा पृथक् धारणा राखेको अर्थ लगाइएको छ। त्यसप्रति आक्रोश व्यक्त गर्दै बेइजिङले एउटा विज्ञप्ति जारी गरेको छ जसमा “ताइवान चीनको हिस्सा रहेको” अडान व्यक्त गरिएको छ।
बेइजिङले “शान्तिपूर्ण पुनःएकिकरण” को कुरा उठाउने गरेको भए पनि उसले बल प्रयोग गर्ने विषयलाई पनि नकारेको छैन। त्यसले ताइवानको निर्वाचनलाई “युद्ध वा शान्ति”बीचको रोजाइका रूपमा हेरिएको थियो।
जितपछि लाईले चीनलाई के सन्देश दिए
हालैका महिनाहरूमा चीनले उक्त प्रायद्वीप वरपर सैनिक उपस्थिति वृद्धि गरेको छ जसले सम्भावित द्वन्द्वको भय बढाएको छ।
बेइजिङको कम्युनिस्ट सरकारले ताइवानमा आठ वर्ष शासन गरेको लाईको स्वतन्त्रता पक्षधर डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)लाई निन्दा गर्छ।
आफ्नो दलले अभूतपूर्व तेस्रो कार्यकाल राष्ट्रपति चुनाव जितेपछि लाईले नयाँ कीर्तिमान रचेका छन्। विपक्षीहरूले पराजय स्वीकार गरेपछि उहाँले अब पछाडि फर्किने बाटो नरहेको सङ्केत गर्नुभयो ।
“देशले सही मार्गमा अघि बढ्ने कामलाई निरन्तरता दिनेछ। हामी यता उता फर्कँदैनौँ वा पछाडि फर्किँदैनौँ,” उहाँले एउटा पत्रकार सम्मेलनमा भन्नुभयो ।
ताइपेईमा दशौँ हजार समर्थकहरूलाई सम्बोधन गर्दै उहाँले जितलाई लोकतन्त्रको विजयका रूपमा चित्रण गर्नुभएको थियो ।
उहाँले भन्नुभयो , “हामीले गरि छाड्यौँ। हामीले विदेशी शक्तिहरूलाई हाम्रो चुनावलाई प्रभावित पार्न दिएनौँ। किनभने हामीले हामी आफ्नो राष्ट्रपति आफैँ चुन्नेछौँ भनेर निर्णय गरेका थियौँ।”
मतदान अघि ताइवानले चीनलाई चुनावी प्रक्रियामा हस्तक्षेप गर्ने प्रयास गरेको आरोप लगाएको थियो।
लाईले चुनावमा विजयपछि चीनलाई पनि सन्देश दिएका छन्।
उहाँले सम्वाददाताहरूसँग आफूले चीनसँग अवरोध वा द्वन्द्व भन्दा बढी संवाद र आदानप्रदान चाहेको बताउनुभयो । शान्ति र स्थिरताका लागि उहाँले बेइजिङलाई आह्वान पनि गर्नुभएको छ ।
उहाँले यथास्थितिको अवस्थालाई कायम राख्ने उल्लेख गर्नुभयो जसको अर्थ चीनबाट स्वतन्त्रता नखोज्ने र चीनसँग एकीकरण पनि नगर्ने हुन्छ। तर “चीनको खतराबाट ताइवानको रक्षा” गर्ने वाचा उहाँले गर्नुभयो ।
चीनको आक्रोश
ताइवानको स्वतन्त्रतालाई एउटा सीमा रेखा मान्ने गरेको बेइजिङले विगतमा उक्त अवधारणाको पक्षमा गरेको टिप्पणीका कारण लाईलाई “पृथकतावादी” र “समस्या निम्त्याउने” नेताका रूपमा टिप्पणी गरेको थियो।
तर हालैका महिनाहरूमा उहाँले औपचारिक स्वतन्त्रताको पक्षमा आफूलाई नउभ्याउने सङ्केत गर्नुभयो ।
शनिवार चीनको राज्य परिषद्को ताइवान मामिलासम्बन्धी कार्यालयले जारी गरेको विज्ञप्तिले निर्वाचनको नतिजाले “मातृभूमिको एकीकरण रोक्न नसकिने प्रक्रियालाई अवरुद्ध बनाउन नसक्ने” जनाइएको छ। साथै चुनाव जितेको दलले ताइवानको “मूलधारको सार्वजनिक अभिमत” सम्बोधन गर्न नसक्ने भनिएको छ।
बेइजिङको उक्त धारणापछि ताइवानले चीनलाई ‘वास्तविकता स्वीकार गर्न’ र शनिवारको निर्वाचन परिणामप्रति सम्मान व्यक्त गर्न भनेको छ। ताइवानको विदेश मन्त्रालयले चीनलाई ‘ताइवानमाथिको दमन रोक्न’ पनि भनेको छ।
ताइवानको सबैभन्दा ठूलो साझेदार संयुक्त राज्य अमेरिकाले जितका लागि लाईलाई तत्कालै बधाई दिएको थियो। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले उक्त टापुको “मजबुत लोकतान्त्रिक प्रणाली र निर्वाचन प्रक्रिया” को प्रशंसा गर्नुभयो ।
एउटा विज्ञप्तिमा उहाँले वासिङ्टन उक्त ‘प्रायद्वीपमा शान्ति र स्थिरता कायम गर्नका लागि प्रतिबद्ध’ रहेको उल्लेख गर्नुभयो । त्यसअघि राष्ट्रपति जो बाइडनले अमेरिकाले “ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने” बताउनुभएको थियो ।
ताइपेईमा डीपीपी दलको मुख्यालयबाहिर जम्मा भएर समर्थकहरूले चुनावी परिणामलाई स्वागत गरेका छन्। “म एकदमै खुसी छु। अधिकांश ताइवानी नागरिकहरू हाम्रो लोकतान्त्रिक जीवनशैलीको रक्षा गर्न चाहन्छन्,” चेङ यू साईले भन्नुभयो ।
“मलाई मतलब छैन (चीनले कसरी प्रतिक्रिया जनाउँछ)। हामी हाम्रो मान्यतामा कायम रहनुपर्छ र हामीलाई ठिक लागेको कुरामा अडान लिँदै अघि बढ्नुपर्छ,” वे यीसाइले भन्नुभयो ।

जम्मा ४० प्रतिशत मत ल्याएका लाईले प्रमुख विपक्षी कुओमिन्टाङ (केएमटी) दलका आफ्ना प्रतिस्पर्धी हू यी यीलाई सहजै पराजित गरेका हुन्।
सन् २००० यता ताइवानमा डीपीपी र बेइजिङसँग अलि बढी मित्रवत् सम्बन्ध रहेको केएमटीले पालै पालो शासन गर्दै आएका छन्। हालै राजनीतिक परिदृश्यमा उदाएका र युवा मतदातामाझ लोकप्रिय रहेका ताइवान पिपुल्स पार्टीका को वेन जेले एक चौथाइ मत ल्याएका थिए।
शनिवार मतदाताहरूले व्यवस्थापिकाका नयाँ सदस्यहरू पनि चयन गरेका छन्। डीपीपीले त्यहाँ बहुमत गुमाएको छ भने विपक्षी बलियो भएको छ। ताइवानका सञ्चारमाध्यमहरूका अनुसार संसद्मा नियन्त्रण कायम गर्ने आवश्यक सीट कुनै दलसँग छैन।
कतिपय विश्लेषकहरूले विपक्षीको प्रभुत्व रहेको संसद् र डीपीपीबाट चुनिएका राष्ट्रपतिहुँदा ताइवानमा सत्ता सञ्चालन थप जटिल बन्न सक्ने टिप्पणी गरेका छन्। विविसि
