नयाँ दिल्ली, २४ भदौ । जी २० देशका नेताहरू संयुक्त घोषणापत्रप्रति सहमत भएको उक्त शिखर सम्मेलनको आयोजक राष्ट्र भारतले जनाएको छ।
त्यसको जानकारी दिदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो टोलीको कडा परिश्रम र तपाईँहरू सबैको साथ सहयोगले ‘नयाँ दिल्ली जी २० लिडर्स घोषणापत्रमा सहमति जुटेको भन्नुभयो ।
जी २० का लागि भारतीय मध्यस्थकर्ता अमिताभ कान्तले सामाजिक सञ्जालमा नयाँ दिल्ली घोषणापत्रमा उल्लेख गरिएका कुराहरू साझा गरेका छन्।
उनले नयाँ दिल्ली घोषणापत्रमा निम्न कुरामा केन्द्रीत रहेको उल्लेख गरेका छन्ः
बलियो, दीर्घकालीन, सन्तुलित र समावेशी वृद्धि
दिगो विकास लक्ष्यको प्रगतिलाई गति दिने
दीर्घकालीन भविष्यको लागि हरित विकास सम्झौता
एक्काइसौँ शताब्दीका लागि बहुपक्षीय संगठनहरू
बहुपक्षवादलाई पुनर्जीवित गर्ने
युक्रेनबारे घोषणापत्रमा के भनिएको छ ?
घोषणापत्रमा युक्रेनमा जारी युद्धको सन्दर्भमा गत वर्ष बालीमा भएको छलफललाई दोहोर्याइएको छ।
नयाँ दिल्ली घोषणापत्रमा भनिएको छ, ूयुक्रेनको युद्धका सम्बन्धमा बालीमा भएको छलफललाई दोहोर्याउँदै हामीले संयुक्त राष्ट्रसङ्घ सङ्घीय सुरक्षा परिषद् र संयुक्त राष्ट्रसङ्घको महासभाका प्रस्तावहरूमा हाम्रो राष्ट्रिय अडानलाई दोहोर्यायौँ र सबै देशहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्र, उद्देश्य र सिद्धान्त अनुरूप सहयोग गर्नुपर्छ भनेर जोड दिएका छौँ।
ूसंयुक्त राष्ट्रसङ्घको बडापत्र अनुसार सबै देशले क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता वा अन्य कुनै पनि राज्यको राजनीतिक स्वतन्त्रता विरुद्ध क्षेत्रीय अधिग्रहण वा बल प्रयोगको खतराबाट टाढा रहनुपर्छ। आणविक हतियारको प्रयोग वा प्रयोगको धम्की अस्वीकार्य छ।
भारतमा जी २० सम्मेलनका लागि भेला भएका विश्वका नेताहरूबीच सबैभन्दा ठूलो मतभेद युक्रेनमाथिको रुसी आक्रमणलाई लिएर भएको थियो।
शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले सम्मेलनको आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नु भएको थियो र उहाँहरुले कैयौँ क्षेत्रमा सहकार्य गर्ने वाचा गर्नुभएको थियो ।
तर उक्त शिखर सम्मेलनमा विश्वका दुई सर्वाधिक शक्तिशाली राष्ट्रहरू रुस र चीनका सरकार प्रमुख अनुपस्थित रहेपनि उहाँहरुले बैठकमा भाग लिन आफ्ना प्रतिनिधि पठाउनुभएको छ ।
संयुक्त घोषणापत्रका लागि गरिएको तयारी
मतभेदमाझ भारतले सदस्य राष्ट्रहरूलाई एउटा संयुक्त घोषणापत्रमा सहमत गराउने अथक प्रयास गरेको बताइएको छ।
मोदीले पनि आफ्ना सहकर्मीले व्यापक मेहनत गरेर सहमति जुटाएको उल्लेख गर्नुभएको छ ।
यो शिखर सम्मेलनमा संयुक्त घोषणापत्र जारी नभएको भए उक्त संस्थाको शिखर सम्मेलनमा संयुक्त घोषणापत्र जारी हुन नसकेको यो नै पहिलो घटना हुने थियो।
अघिल्लो वर्ष इन्डोनेसियामा भएको जी२० शिखर सम्मेलनलाई पनि युक्रेनमाथि रुसी हमलाले ओझेलमा पारेको थियो तर उक्त लडाइँलाई लिएर अभिव्यक्त मतभेदमाझ नेताहरूले आआफ्ना फरक धारणासहितको घोषणापत्र ल्याएका थिए।
त्यसयता देशहरूका अडान अझ कठोर भएका छन्।
त्यसैलाई लिएर विश्लेषकहरूले रुस र चीनले त्यस्तो छुट नदिन सक्ने र अमेरिकी नेतृत्वमा पश्चिमा देशहरूको समूहले युद्धको निन्दाबाहेक अन्यखाले शब्द कुरा स्वीकार गर्न नसकिने धारणा राख्नसक्ने ठानेका थिए।
अझ सी र पुटिनको अनुपस्थितिले निर्णय प्रक्रियालाई झन् कठिन बनाउन सक्ने ठानिएको थियो।
रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोफ र चिनियाँ प्रधानमन्त्री ली क्चियाङले आआफ्ना देशको प्रतिनिधित्व गरेका छन् तर आफ्ना नेताहरूसँग अनुमति नलिइकन उनीहरूले अन्तिम घडीमा निर्णयहरू लिने राजनीतिक सामर्थ्य नराख्न सक्छन् भन्ने ठानिएको थियो।
यसै वर्षको सुरुमा जी २० का विदेश र अर्थमन्त्रीहरूको बैठक पनि संयुक्त विज्ञप्ति जारी नगरी सकिएको थियो।
जी २० राष्ट्रहरूले वैश्विक अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच हुने व्यापार कुल व्यापा मध्येको ७५ प्रतिशत हो।
विश्वको कुल जनसङ्ख्यामध्ये दुई तिहाइ मानिसहरू ती देशमा बस्छन्।
भारतले बारम्बर उक्त समूहमा आबद्ध नरहेका देशप्रति पनि जी२० को जिम्मेवारी रहेको बताउने गरेको छ र आफूलाई ‘ग्लोबल साउथ’को एउटा आवाजको रूपमा प्रस्तुत गर्दै आएको छ।
जी२० मा विश्वका १९ वटा ठूला अर्थतन्त्र र युरोपेली सङ्घ छन्।
शनिवार सम्मेलनको उद्घाटन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अफ्रिकी सङ्घलाई पनि सो समूहको स्थायी सदस्य बनाइनु पर्ने प्रस्ताव राख्नुभएको थियो जुन बैठकले तत्कालै पारित गरेको थियो।
अफ्रिकी सङ्घको उपस्थितिले विकासशील देशहरूको आवश्यकताबारेको भारतको अडानलाई थप बलियो बनाएको छ।
जी २० सम्मेलन दक्षिण एशियामा पहिलो पटक आयोजना भएको हो र यसमा विश्वका चर्चित नेताहरू सहभागी छन्।
अमेरिकी राष्ट्रपति जो बाइडन, ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रोँ शिखर बैठकमा सहभागी भइरहेका छन्।
यो सम्मेलनको तयारीका लागि अघिल्लो वर्ष ६० वटा भारतीय सहरमा विभिन्न २०० वटा बैठकहरू आयोजना गरिएको थियो।
शिखर सम्मेलनको सुरुमा मोदीले विभिन्न विषयमा बोल्नुभएको थियो ।
उहाँले मोरक्कोमा गएको भूकम्पबाट प्रभावित मानिसप्रति
समवेदना र सहानुभूति प्रकट गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “म भन्न चाहन्छु सारा विश्व उहाँहरूको साथमा छ र हामी उनीहरूलाई हरसम्भव सहयोग गर्न तयार छौँ।”
उहाँले कार्यक्रमस्थल भन्दा केही पर रहेको एउटा प्राचीन स्तम्भमा साढे दुई हजार वर्ष पुरानो स्तम्भमा प्राकृत भाषामा “मानवताको कल्याण र सुख सदा कायम रहनेछ” भनेर लेखिएको स्मरण गर्नुभएको छ ।
मोदीले भारतले सम्पूर्ण विश्वलाई “हामी मिलेर विश्वव्यापी विश्वासको कमीलाई विश्वासमा परिणत गर्नुपर्छ” भनेर आह्वान गरिरहेको बताउनुभएको छ ।
उहाँले यो सबै मिलेर विकास गर्ने समय भएको बताउनुभयो ।
उहाँले अफ्रिकी सङ्घलाई जी२० मा सहभागी हुने प्रस्ताव पनि राख्नुभएको थियो ।
मोदीले आगामी पुस्ताले विश्व अर्थतन्त्रको उथलपुथल, उत्तर–दक्षिण र पूर्व–पश्चिम बीचको भिन्नता, खाद्यान्न सङ्कट, मल सङ्कट जस्ता चुनौतीको सामना गर्नुपर्ने पनि बताउनुभयो । बीबीसी
