इस्लामाव २० साउन । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।

आफूमाथिका आरोप खानले अस्वीकार गर्दै आएका छन्। उनलाई एक लाख रुपियाँ पनि जरिवाना गरिएको छ।

शनिवार अपराह्न १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक सुरु भएको थियो। त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए।

अदालतले उनका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो। त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको हो।

खानको समूहले उक्त निर्णय विरुद्ध पुनरावेदन गर्ने जनाएको छ। पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले यो अदालतको सजायसँगै इमरान खान पाँच वर्षसम्म चुनावमा भाग लिन अयोग्य बन्ने बताएका छन्।

तोसाखाना एउटा सरकारी विभाग हो। त्यहाँ प्रधानमन्त्री, राष्ट्रपति वा अरू उच्च अधिकारीहरूले कुनै यात्राको दौरान प्राप्त गर्ने महँगा उपहारहरू राख्ने गरिन्छ।

कुनै पनि विदेश यात्राको समयमा विदेश मन्त्रालयका अधिकारीहरूले त्यस्तो उपहारको अभिलेख राख्ने गर्छन्। र यात्राबाट फर्किएपछि तीनलाई तोसाखानामा जम्मा गर्नुपर्ने हुन्छ।

‘नयाँ पाकिस्तान’को नारा दिएर भ्रष्टाचारविरुद्ध लड्ने र अर्थतन्त्रलाई लयमा ल्याउने बाचासाथ सन् २०१८ को जुलाईमा उनी देशको प्रधानमन्त्री निर्वाचित भएका थिए।

तर सन् २०२२ को एप्रिलमा विश्वासको मत प्राप्त गर्न विफल भएपछि उनको सरकार ढलेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर