जाजरकोट, ३१ असोज । जाजरकोटको भेरी करिडोर सडकअन्तर्गत नलगाड–८ मालुवास्थित सडक खण्डमा आज लु.प्र. ०१–००१ ह ०५२९ नम्बरको अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीबजारबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ गइरहेकको थियो ।
दुर्घटनामा परि नलगाड नगरपालिका–९ का १७ वर्षीय सन्तोष विक र सोही ठाउँका ५५ वर्षीय रमेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अटो दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनीहरूलाई नगर अस्पताल दल्ली पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरिएको थियो ।
दुर्घटनामा परि नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड नगरपालिका–३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११ चौर निवासी २२ वर्षका करण परियार घाइते भएका छन्।
घाइते तीनै जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। अटो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
दुई दिनअघि मात्र जिल्लाको जुनीचाँदेमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो। चाडबाडको मुखैमा लगातार दुर्घटना बढ्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्।
