पेशावर, २९ असोज । पाकिस्तानको पेशावरमा आज निजी विद्यालयको छत खस्दा २० जना विद्यार्थी र एक महिला शिक्षिका सहित २१ जनाको मृत्यु भएको छ।
मृतक सबै विद्यार्थी १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको बताइएको छ।
यो दुर्घटना पेशावरको दीर कोलोनी क्षेत्रमा भएको हो। घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि अस्पतालमा आपत्कालीन सेवा घोषणा गरिएको छ।
पाकिस्तानमा विद्यालयका छत तथा भवन भत्किने घटना बारम्बार हुने गरेका छन्। यसको प्रमुख कारण सुरक्षा मापदण्डको बेवास्ता र निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग रहेको बताइएको छ।
पछिल्लो ६ महिनामा भएका विद्यालय तथा शैक्षिक संस्थासम्बन्धी चार ठूला दुर्घटना भएका छन्।
उमरकोटमा जुलाईमा सरकारी विद्यालयको बाहिरी पर्खाल भत्किँदा तीन बालिकाको मृत्यु भएको थियो। लाहोरमा जुलाईमा बागबानपुरा क्षेत्रमा निर्माणाधीन निजी विद्यालयको छत खस्दा एक बालकको मृत्यु भएको थियो।
यस्तै, लाहोरमै जुनमा कहना क्षेत्रमा ट्युसन सेन्टरको छत खस्दा १४ बालबालिकाको मृत्यु भएको थियो। र डेरा गाजी खानमा मेमा विद्यालयको छत खस्दा चार बालबालिकाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।
