अष्ट्रेलिया, २८ असोज । अष्ट्रेलियामा देशभर सञ्चालित मानसिक स्वास्थ्य सहायता केन्द्रमार्फत १० लाखभन्दा बढी युवाले मानसिक स्वास्थ्यसम्बन्धी सेवा प्राप्त गरेका छन्। अष्ट्रेलिया सरकारले बुधबार यसबारे जानकारी दिएको हो।
राष्ट्रिय मानसिक स्वास्थ्य सहायता दिवसका अवसरमा जारी विज्ञप्तिमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी सहायक मन्त्री एम्मा म्याकब्राइडले देशभरका १७६ वटा केन्द्रमार्फत ९५ लाखभन्दा बढी निःशुल्क परामर्श सेवा प्रदान गरिएको बताए।
सरकारले ५६ वटा मानसिक स्वास्थ्य सहायता केन्द्र स्थापना, स्तरोन्नति तथा विस्तार गर्न २१ करोड १५ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब १४ करोड ९० लाख अमेरिकी डलर लगानी गरिरहेको छ।
विस्तार योजना पूरा भएपछि देशभर यस्ता केन्द्रको सङ्ख्या २०० भन्दा बढी पुग्ने अपेक्षा गरिएको छ।
विस्तार योजनाअन्तर्गत जटिल मानसिक स्वास्थ्य समस्या भएका युवालाई लक्षित गरी विशेष सेवा केन्द्रहरू पनि सञ्चालनमा ल्याइनेछ।
ती केन्द्रमा मनोवैज्ञानिक, सामाजिक कार्यकर्ता, सहकर्मी सहयोगी तथा परामर्शदाताले एकीकृत रूपमा सेवा प्रदान गर्नेछन्।
विज्ञप्तिअनुसार, अष्ट्रेलियामा प्रत्येक वर्ष करिब पाँचमध्ये दुई जना युवाले मानसिक स्वास्थ्यसम्बन्धी समस्या सामना गर्छन्।
त्यस्तै, मानसिक स्वास्थ्यसम्बन्धी तीनचौथाइ समस्या २५ वर्षको उमेर पुग्नुअघि नै देखा पर्ने गरेका छन्।
म्याकब्राइडले यी उपलब्धिले युवामा मानसिक स्वास्थ्य सेवाको माग बढ्दै गएको देखाएको बताए।
उनले समस्या गम्भीर बन्नुअघि नै युवालाई आवश्यक परामर्श, उपचार तथा सहयोग उपलब्ध गराउनु महत्त्वपूर्ण रहेकोमा जोड दिए।
