लमजुङ, ११ असोज । मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङ जिल्लाको प्रवेशद्वारमा रहेको तालगाउँ डुबानमा परेको छ। नासों गाउँपालिका –१ मा पर्ने तालगाउँ मर्स्याङ्दी नदीको किनारमा रहेको छ।
बाढी बस्तीमा पसेपछि स्थानीयवासी गाउँमाथिको सुरक्षित स्थानमा सरेका छन्। नासोँ गाउँपालिका –१ का अध्यक्ष मिनरासी गुरुङका अनुसार गाउँमा होटल तथा घर गरी करिब ५० वटा संरचना छन्। सबै संरचना डुबानमा परेका छन् । नदीमा पानीको बहाव बढेर साईरन बजेपछि स्थानीयवासी राति नै गाउँभन्दा केहीमाथि रहेको गुम्बामा सरेका थिए ।
तालगाउँ यसअघि पनि पटक–पटक डुबानमा परेको थियो । यस पटक साईरन राखिएकाले स्थानीय छिटै सुरक्षित स्थानमा सर्न पाएको वडाअध्यक्ष गुरूङले बताउनुभयो।
लगातार तीन दिनदेखि परेको वर्षाका कारण लमजुङ–मनाङ जोड्ने बेंसीसहर–चामे सडकका विभिन्न स्थानमा पहिरो गएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा मनाङसँगको आवतजावत बन्द भएको छ।
वर्षाले विद्युत् संरचनामा समेत क्षति गरेपछि विद्धुत सेवा अबरुद्ध रहेको स्थानीयले बताएका छन्। विद्युत् सेवा अवरुद्ध भएपछि मनाङमा सञ्चार सम्पर्कसमेत प्रभावित भएको स्थानीय राजन गुरूङले जानकारी दिनुभयो ।
नदीमा पानीको बहाव बढिरहेको र सडक तथा विद्युत् संरचना प्रभावित भएकाले तालगाउँसहित आसपासका बस्तीमा जोखिम बढेको स्थानीयले बताएका छन्।
