काठमाडौँ, ७ असोज । यही असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा ठुलो वर्षा गराउने सम्भावना थप उच्च बनेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
अन्डमान सागरआसपास बनेको न्यून चापीय प्रणाली शक्तिशाली हुँदै गएकाले ठुलो वर्षा हुने जनाइएको हो ।
वर्षा कारण विभिन्न क्षेत्रमा प्रतिकार्यमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मङ्गलबार विभागले रेड अलर्ट जारी गरेको छ । विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा उच्च हावाहुरीसहित ठुलो वर्षा हुने सम्भावना छ ।
त्यस्तै मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि ठुलो वर्षाको सम्भावना प्रबल रहेको जनाउँदै रेड अलर्ट जारी भएको छ । सम्भावित वर्षाका कारणले भूक्षय, बाढीपहिरो तथा गेग्य्रान बहाबको उच्च जोखिमसँगै सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहने औँल्याएको छ । देशका ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटनलगायत नदी क्षेत्रआसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा नगर्न र आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ ।
भारी वर्षालाई दृष्टिगत गर्दै एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार ७७ वटै जिल्लामा रहेका विपत् प्रतिकार्य संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।
