इन्डोनेसिया, साउन ३० । इन्डोनेसियाको फ्लोरेस टापु नजिक शनिबार शक्तिशाली भूकम्प गएपछि उद्धारकर्मीले भग्नावशेषमा बाँचेकाको खोजी गरिरहेका छन् । प्राकृतिक प्रकोप व्यवस्थापन अधिकारीका अनुसार भूकम्पका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।
इन्डोनेसियाको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायका प्रमुख सुहार्यान्तोले भूकम्पमा परेका १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको तीमध्ये दुई जनाको स्वास्थ्य गम्भीर अवस्थामा रहेको बताउनुभएको छ । “धेरै भवनका भग्नावशेषमा पीडितहरू फसेका छन्,” सुहार्यान्तोले बताउनुभयो । “प्रकोप व्यवस्थापन टोलीको पहिलो प्रयास भग्नावशेषमा फसेका जीवित मानिसको उद्धारका लागि प्रारम्भिक लक्ष्य हुने छन्,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।
उद्धार कार्यमा सहयोग गर्न दुई हेलिकोप्टर र एक विमान तयारी अवस्थामा राखिएका छन् । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले समूहको ‘कोपर्निकस अर्थ अब्जर्भेसन स्याटेलाइट’बाट सहयोगको प्रस्ताव गर्नुभएको छ । उहाँले एक्समा लेख्नुभयो, “युरोपले खोज तथा उद्धार प्रयासमा सहयोगका लागि हाम्रो आकाशको आँखा (कोपर्निकस) तैनाथ गर्न तयार छ । इन्डोनेसिया र यहाँका जनता यस विपतको घडीमा भूकम्प प्रभावित इन्डोशियासँग छन् ।”
इन्डोनेसियाको पूर्वी भागमा रहेको लोकप्रिय पर्यटकीय टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको भूकम्प जाँदा दर्जनौं घर र अन्य भवन क्षतिग्रस्त भएका थिए । सुहार्यान्तोले भूकम्पपछि करिब दुई हजार जनालाई स्थानान्तरण गरेको बताउनुभयो । “मैले यति ठूलो भूकम्प कहिल्यै अनुभव गरेको थिइनँ,” केन्द्र विन्दुबाट १०० किलोमिटरभन्दा बढी पश्चिममा रहेको रुटेङ सहरमा बस्ने युलियन जुइता एकालियाले एएफपीसँग टेलिफोनमा भन्नुभयो ।
“बाहिर निस्कन दौडँदा घरभित्रका सबै कुरा तल झरेः टेलिभिजन, छोराका ट्रफी, भाँडाका र्याक, वार्डरोबमाथि राखिएका सुटकेस बाहिर पुग्दा मेरो छोरा र छिमेकी त्यहाँ थिए, डरले चिच्याइरहेका ।” उद्धार अधिकारी फाथुर रहमानले एएफपीलाई भन्नुभयो, “ध्यान अहिले भग्नामवशेषमा फसेका पीडित फेला पार्न केन्द्रित छ, तर पहिरोले सडक अवरुद्ध भएकाले उद्धार कार्य जटिल बनेको छ ।”
केन्द्रविन्दु नजिकको नागेकेओ क्षेत्रका बासिन्दा शनिबार बिहान समुद्रमा सुनामी आउने चेतावनीपछि सुरक्षित स्थानतर्फ गएका थिए तर अब त्यहाँ सुनामीको डर हटिसकेको छ । सुनामी चेतावनी हटाइए पनि अधिकारीहरूले मानिसलाई पराकम्पनले क्षतिग्रस्थ भवन ढल्न सक्ने चेतावनी दिँदै तत्काल सुरक्षित स्थलमा रहन आग्रह गरेका छन् ।
इन्डोनेसिया प्यासिफिक ‘रिङग अफ फायर’ मा अवस्थित भएकाले बारम्बार भूकम्पको सामना गर्छ । यो जापानदेखि दक्षिणपूर्वी एसिया हुँदै प्यासिफिक बेसिनसम्म फैलिएको तीव्र भूकम्पीय गतिविधि भएको क्षेत्र हो । फ्लोरेसमा सन् १९९२ मा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले सुनामी निम्त्याएको थियो र करिब दुई हजार ५०० जनाको मृत्यु भएको थियो ।
सन् २००४ मा सुमात्राको तटबाट गएको विनाशकारी ९.१ म्याग्निच्युडको भूकम्पले सुनामी निम्त्याएको थियो, जसले क्षेत्रभरि दुई लाख २० हजार जनाको मृत्यु गराएको थियो । तीमध्ये करिब एक लाख ७० हजार जना इन्डोनेसियामा थिए । यो अभिलेखित इतिहासका सबैभन्दा घातक प्राकृतिक प्रकोप मध्ये एक हो ।
