हुम्ला, २९ साउन । हुम्लास्थित नेपाल–चीन सीमा नाम्खा गाउँपालिका–६ को लाप्चा क्षेत्रबाट भित्र्याइएको अवैध चिनियाँ मदिरा सुरक्षाकर्मीको संयुक्त टोलीले बरामद गरेको छ।
व्यापार मेलाका क्रममा लाप्चा नाकाबाट भित्र्याइएको ५१ लाखभन्दा बढी मूल्यको उक्त मदिरा बेवारिसे अवस्थामा राखिएको भेटिएपछि सुरक्षाकर्मीले बरामद गरेका हुन्।
लाप्चा नाकाबाट भित्र्याइएको बेवारिसे अवस्थामा रहेको ५९४ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनुभयो।
यसैगरी, सुरक्षाकर्मीले १९४ कार्टुन चिनियाँ बियर पनि बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद मदिरा र बियरको कुल मूल्य ५१ लाख ९३ हजार ६०० रुपियाँ रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो।
