टोकियो, २३ असार । जापानले विवादित सेन्काकु टापुनजिक आफ्नो दाबीको समुद्री क्षेत्रमा प्रवेश गरेका दुई चिनियाँ तटरक्षक जहाजलाई बाहिरिन बाध्य पारेको जनाएको छ ।
जापानी तटरक्षकका अनुसार चिनियाँ जहाजहरू जापानी माछा मार्ने डुङ्गातर्फ अघि बढेपछि उनीहरूलाई तत्काल क्षेत्र छाड्न निर्देशन दिइएको थियो । पछिल्लो घटनाले पूर्वी चीन सागरमा जापान–चीनबीचको समुद्री तनाव फेरि चर्किएको छ ।
जापानी तटरक्षकले जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ जहाजहरूलाई पटक–पटक चेतावनी दिएपछि उनीहरूले मङ्गलबार बिहान ९ः२० बजेभित्र जापानले आफ्नो क्षेत्रीय जलका रूपमा दाबी गरेको समुद्री क्षेत्र छाडेका थिए । जापानी माछा मार्ने जहाजको सुरक्षा सुनिश्चित गर्न तटरक्षकका अतिरिक्त जहाज पनि परिचालन गरिएको जनाइएको छ ।
विज्ञप्तिअनुसार सुरुमा चार चिनियाँ तटरक्षक जहाजले विवादित क्षेत्र वरिपरि गस्ती गरिरहेका थिए । तीमध्ये दुई जहाज जापानी दाबीको जलक्षेत्रमा प्रवेश गरेका थिए । जापानले उक्त गतिविधिलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भन्दै भविष्यमा पनि शान्त तर दृढ रूपमा आफ्नो क्षेत्रीय जलको सुरक्षा गरिरहने जनाएको छ ।
ताइवान र जापानको ओकिनावाबीच अवस्थित सेन्काकु टापु चीनमा दियाओयु नामले चिनिन्छ र यही टापुको स्वामित्वलाई लिएर जापान र चीनबीच लामो समयदेखि क्षेत्रीय विवाद जारी छ । चीनले नियमित रूपमा उक्त क्षेत्रमा आफ्ना तटरक्षक जहाज परिचालन गर्दै आएको छ, जसका कारण जापानी सुरक्षा निकायसँग पटक–पटक समुद्री तनाव सिर्जना हुने गरेको छ ।
जापानी अधिकारीहरूका अनुसार चिनियाँ जहाजले यसअघि जुन १० मा पनि जापानले आफ्नो क्षेत्र मानेको जलक्षेत्रमा प्रवेश गरेका थिए । तर जापानी माछा मार्ने डुङ्गाको यति नजिक पुग्नु भने असामान्य घटना भएको बताइएको छ ।
पूर्वी चीन सागरका अन्य विवादित क्षेत्रमा पनि चीनले नियमित रूपमा जहाज परिचालन गर्दै आएको जापानको आरोप छ । ती क्षेत्रमा तेल तथा प्राकृतिक ग्यासजस्ता ऊर्जा स्रोतको सम्भावित भण्डार रहेको विश्वास गरिन्छ ।
दुई देशबीचको सम्बन्ध पछिल्ला महिनामा थप संवेदनशील बनेको छ । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले गत नोभेम्बरमा ताइवानको सुरक्षा अवस्थाबारे अभिव्यक्ति दिएपछि बेइजिङले त्यसप्रति असहमति जनाएको थियो । त्यसयता चीनले आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न आग्रह गर्नुका साथै केही जापानी कम्पनीमाथि व्यापारिक प्रतिबन्धसमेत कडा बनाएको छ । एएफपी
