पेरिस, ९ साउन । युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली सङ्घ (इयू) को जलवायु अनुगमनकर्ताले जुलाई २२ मा लगातार दोस्रो दिन पृथ्वीमा अत्यधिक तातो भएको जनाएको छ ।
कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सिथ्रिएस)को प्रारम्भिक तथ्याङ्कअनुसार सोमबार दैनिक औसत तापक्रम १७.१५ डिग्री सेल्सियस पुगेको थियो । यसको एक दिनअघि अर्थात् जुलाई २१ मा ०.०६ डिग्री सेल्सियस कम तातो थियो । यद्यपि, यो एक वर्ष पहिले रेकर्ड भएको सर्वकालिक उच्च तापमानभन्दा सामान्य बढी हो ।
पृथ्वीको तथ्याङ्क प्रयोग गरेर वास्तविक समयको नजिक विश्वव्यापी वायु र समुद्री तापमान अद्यावधिक गर्ने संस्था कोपर्निकसको आँकडा अस्थायी रहेको र अन्तिम मानहरू धेरै फरक हुनसक्ने बताइएको छ ।
“जलवायु विज्ञानले हामीलाई भनेको कुरा यही हो कि यदि विश्वले कोइला, तेल र ग्याँस जलाइरह्यो भने तापक्रम वृद्धिले भयावह स्थितिको सिर्जना गर्नसक्छ,” इम्पेरियल कलेज लण्डनका जलवायु वैज्ञानिक जोइस किमुताईले भन्नुभयो ।एएफपी
सन् २०२३ को जुनदेखि हरेक महिना अघिल्लो वर्षको सोही महिनाको तुलनामा तापक्रम वृद्धि रेकर्ड मापन गरिएको छ, सीथ्रीएसका निर्देशक कार्लो बुओनटेम्पोले मङ्गलबार यसलाई ‘वास्तवमै आश्चर्यजनक’ भन्नुभएको छ ।
जलवायु परिवर्तनले लामो, कडा र अत्यधिक चरम मौसमी घटनाको जोखिम निम्ताइरहेको छ र यसले यो वर्ष संसारभरका ठूला विपत्तिहरूलाई सङ्केत गरिएको छ ।
