काठमाडौँ, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कुनै अभियोग वा आरोप र उहाँ विरुद्ध कुनै उजुरी वा आदेशमा पक्राउ गरिएको नभई सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार “उहाँको सुरक्षाका लागि नै तत्काल के गर्नेभन्दा यहाँ ल्याइएको मात्र हो । अब के गर्ने भन्ने निर्णय भएपछि सोहीअनुसारको सुरक्षा प्रदान हुन्छ,” ।

चोलेन्द्रशम्शेर जबरा पूर्वप्रधानन्यायाधीश हुनुहुन्छ । उहाँ २०७५ पुसमा प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो । प्रधानन्यायाधीशका रूपमा उहाँको कार्यकाल विवादित बनेपछि २०७८ फागुन १ गते प्रतिनिधिसभामा उहाँविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो । त्यसपछि उहाँ निलम्बनमा पर्नुभएको थियो । महाभियोग सिफारिस समितिले समेत उहाँमाथि महाभियोग लगाउनुपर्ने आधार रहेको निष्कर्षसहित प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको थियो ।

यसैबीच, उहाँविरुद्धको महाभियोगसँग सम्बन्धित रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले हालै फैसला गर्दै महाभियोगको औचित्य समाप्त भएको ठहरसहित रिट खारेज गरेको छ । फैसलाको पूर्णपाठ भने सार्वजनिक भइसकेको छैन ।

जबराको न्यायिक पृष्ठभूमि लामो छ । उहाँ २०५३ सालमा तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो । त्यसपछि विभिन्न न्यायिक जिम्मेवारी सम्हाल्दै सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश बन्नुभएको थियो ।

यसअघि आइतबार बिहान उहाँलाई उहाँको निवासबाट प्रहरीले नियन्त्रणमा लिएको भन्दै समाचार सार्वजनिक भएको थियो ।
उहाँको सुरक्षा अवस्थाबारे थप मूल्याङ्कनपछि उहाँलाई कहाँ र कस्तो सुरक्षा उपलब्ध गराउने भन्ने निर्णय हुने प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर