धनगढी, ३ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको एक हप्ताभित्रै मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो ।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले साउन २८ गते पदबाट राजीनामा दिएपछि साउन २९ गते भट्ट संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ ।
यस प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)नेतृत्वमा नयाँ सरकार बनेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेसँग मिलेर नेकपाले सरकार बनाएको हो । दुवै दलको मिलाएर सरकार चलाउनका लागि बहुमत पुग्ने अवस्था छ ।
नेकपाका २१ (सभामुखसहित), एमालेका ११ जना (उपसभामुखसहित) गरी जम्मा ३२ जना प्रदेश सभा सदस्य रहेका छन् । सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार चलाउन २७ जना प्रदेश सभाको समर्थन आवश्यक पर्ने गरेको छ ।
प्रदेशमा सरकार गठन भए पनि मन्त्रीपरिषद् विस्तारमा भने जटिलता देखिएको छ । मन्त्रीका लागि नेकपाभित्र धेरै जना आकाङ्क्षी देखिएपछि मन्त्रीपरिषद् विस्तार गर्न नेकपालाई सकस भएको छ ।
सो पार्टीभित्र साबिकका माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) गरी तीन फरक पार्टीका प्रदेश सभा सदस्य छन् । सबैलाई मिलाउनुपर्ने र आकाङ्क्षी धेरै रहेकाले मन्त्रीपरिषद् विस्तारमा सकस देखिएको नेकपाका प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले बताउनुभयो । आफ्नै पार्टीभित्र मन्त्रीका आकाङ्क्षी धेरै रहेकाले मुख्यमन्त्री भट्टले विश्वासको मत लिएर मात्रै मन्त्रीमण्डल विस्तार गर्ने गरी अगाडि बढिरहेको देखिएको छ ।
