चीन, ४ असार । पश्चिमोत्तर चीनमा फेला परेको एउटा भीमकाय जीवका अवशेषहरू प्राचीन कालमा विचरण गर्ने एउटा छुट्टै प्रजातिको गैँडाका भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

प्यारासेराथेरिअम लिन्शियाएन्स नाम दिइएको उक्त जीव २.६५ करोड वर्षअघि अस्तित्वमा थियो । झन्डै २१ टन तौल भएको उक्त गैँडा चारवटा अफ्रिकी हात्तीजत्रो ठूलो र जिराफभन्दा अग्लो भएको वैज्ञानिकहरूको भनाइ छ ।

सिङ नभएको उक्त गैँडाले चर्नका लागि सात मिटर अग्ला रूखका टुप्पासम्म टाउको पुर्‍याउन सक्थ्यो ।

यो निष्कर्ष गान्सु प्रान्तमा भेटिएका जीवाश्मको अध्ययन गरेर निकालिएको हो ।

के भन्छन् वैज्ञानिक
यसबारे कम्यूनिकेशन्स बायोलजी जर्नलमा प्रकाशित शोधमा वैज्ञानिकहरूले सन् २०१५ मा फेला परेका जीवाश्मको विश्लेषण गर्दा अन्य भीमकाय गैँडाभन्दा यो नितान्त भिन्न प्रजातिको भएको सङ्केत पाइएको जनाएका छन् ।

उक्त गैँडाको खप्पर र च्यापुको हड्डी पूर्णतः सुरक्षित अवस्थामा थिए । अध्ययनबाट उक्त जीवको खप्पर लाम्चो भएको र सुँडको आकारमा विकसित नाक अहिले पनि अस्तित्वमा रहेको टपिर जीवसँग मिल्दोजुल्दो भएको वैज्ञानिकहरूको निष्कर्ष छ ।

बेइजिङस्थित इन्स्टिट्यूट अफ भर्टिब्रेट प्यालिअन्टलजी एन्ड प्यालिओएन्थ्रपलजीका डा.दङ ताओले उक्त अध्ययनको नेतृत्व गर्नुभएको थियो ।

गैँडाको विचरणबाट प्राचीन भूगोलबारे कस्तो सङ्केत ?
डा. दङको टोलीका वैज्ञानिकहरूले यो प्रजातिको गैँडा कुनै बेला अहिलेको पाकिस्तानमा बस्ने विशाल गैँडासँग सम्बन्धित भएको पत्ता लगाएका छन् ।
यसको अर्थ भीमकाय गैँडाहरूले मध्यएशियाको बाटो हुँदै यात्रा गरेको हुनुपर्छ ।
पश्चिमोत्तर चीन र भारत तथा पाकिस्तान अवस्थित उपमहाद्वीपबीच त्यो जीवले सजिलै विचरण गरेको थियो भने प्राचीन कालमा अहिलेको तिब्बतको पठारमा केही होचा स्थान पनि हुनुपर्ने देखिन्छ ।
उष्ण स्थितिले गर्दा उक्त भीमकाय गैँडाले उत्तरमा मध्यएशियातिर फर्किन पाएको थियो । त्यसको अर्थ तिब्बत क्षेत्र त्यतिबेलासम्म अग्लो पठारको रूपमा उन्नत भइसकेको थिएन, डा. दङले एउटा विज्ञप्तिमा भन्नुभएको छ । बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर