भारत, ३१ जेठ । विश्वको सबभन्दा ठूलो परिवारको मुखिया मानिएका ७६ वर्षीय पुरुषको भारतको मिजोरम राज्यमा निधन भएको छ ।
बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका जिओना चानाको आइतवार मृत्यु भएको हो ।
उहाँका ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना छन् ।
मिजोरमका मुख्यमन्त्री जोरामथाङ्गाले ट्विटरमा मन भारी भएको भन्दै समवेदना प्रकट गर्नुभएको छ । चानालाई मधुमेह र उच्च रक्तचापको समस्या थियो ।
चिकित्सकहरूले पीटीआई समाचार संस्थालाई चानाको घरमै स्वास्थ्य बिग्रिएको र आइतवार साँझ मृत अवस्थामा अस्पताल ल्याइएको बताएका छन् ।
अन्य व्यक्तिहरूले पनि उहाँहरूको परिवार सबैभन्दा ठूलो भएको दाबी गरेका कारण चानाको परिवार नै सबैभन्दा ठूलो रहेको कुरा निर्विवादित भने छैन ।
त्यस्तै चानाको परिवारको ठ्याक्कै सङ्ख्या यकिन गर्न पनि सहज छैन ।
एउटा विवरणमा उहाँका ३८ श्रीमती, ९४ सन्तान, ३३ नातिनातिना र एक पनाति रहेको बताइएको छ ।
स्थानीय सञ्चार माध्यमहरूले सबैभन्दा ठूलो परिवारको विश्व कीर्तिमान भएको विवरण दिए पनि त्यसको आधिकारिकता पुष्टि भएको छैन ।
स्थानीय सञ्चारमाध्यमहरूले रिप्लिज् बीलीभ इट अर नट टिभी शोमा यो परिवार दुई पटक देखाइएको बताउने गरेका छन् ।
विश्व कीर्तिमान भए पनि वा नभए पनि चानाको परिवारका कारण भारतको उत्तरपूर्वी गाउँ पर्यटकीय आकर्षणको केन्द्र भने बनेको छ ।
चानाको रमाइलो जीवनले पनि सञ्चारमाध्यममा निकै स्थान पाएको छ ।
त्यो परिवार १०० कोठा भएको घरमा बस्छ । उहाँका श्रीमतीहरू चानाको शयन कक्षसँगै रहेको ठूलो कोठामा एकसाथ सुत्ने स्थानीय सञ्चार माध्यमले लेखेका छन् ।
रोयटर्सका अनुसार चाना सन् १९४५ मा जन्मनुभएको हो र उहाँले आफूभन्दा तीन वर्ष जेठी पहिलो श्रीमतीलाई १७ वर्षको उमेरमा भेट्नुभएको हो ।
सो परिवार २,००० जना अनुयायी रहेको इसाई धर्मको चाना पउल सम्प्रदायको रहेको छ ।
सो सम्प्रदायका सबै अनुयायी मिजोरमको राजधानीबाट ५५ किलोमिटर टाढा रहेको गाउँमा बस्ने गर्छन् ।
पुरुषका लागि बहुपत्नी स्वीकार गर्ने यो सम्प्रदायलाई सन् १९४२ मा चानाका हजुरबुबाले स्थापना गरेका थिए ।बीबीसी
