पोखरा,२८ जेठ । गण्डकी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गर्दै २४ घन्टाको समय दिनुभएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएपछि प्रदेश प्रमुखले सो आव्हान गर्नुभएको हो ।
प्रदेश सभामा ठुलो दलको नेताको हैसियतमा २९ बैशाखमा मुख्यमन्त्री नियुक्त गुरुङले हिजो प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव गर्नुभएको थियो । विश्वासको मत लिन असफल भएसगै उहाँ स्वतः पदमुक्त हुनुभएको थियो ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि २९ जेठ दिउँसो ३ बजेसम्मका लागि समय दिएर प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाका सदस्यहरुलाई आव्हान गर्नुभएको हो । १६८ (५) अनुसार कसैले बहुमत हासिल गर्न नसके प्रदेश सभा विघटन गरि ६ महिनाभित्र अर्को निर्वाचन हुने कानुनी व्यवस्था छ ।
नयाँ मुख्यमन्त्रीका लागि नेपाली काग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नयाँ मुख्यमन्त्रीका लागि दावी गर्नुभएको छ । उहाँ प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँच मध्ये चार दल र १ स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुहुने र सोकालगि हस्ताक्षर समेत संकलन भइसकेको छ ।
६० सदस्य प्रदेश सभामा एमालेका २७, नेपाली कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र १ स्वतन्त्र सांसद छन् ।
नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । उहाँहरुमध्ये कांग्रेस, माओवादी, जनमोर्चाका ३ मध्ये २, जसपाका २ र १ स्वतन्त्र गरि ३१ सांसदको सर्मथनमा उहाँ मुख्यमन्त्री बन्न लाग्नुभएको हो ।
