काठमाडौ, २३ मंसिर । युरोपका नेताहरूले युक्रेनलाई सघाउन अनि युद्ध अन्त्यका लागि रुसमाथि दबाव बढाउने महत्त्वपूर्ण घडी अहिले नै भएको बताएका छन्।

गत साता अमेरिकी अधिकारीहरू एवं युक्रेनी वार्ताकारहरूको छलफलपश्चात् संशोधित शान्ति योजनाको मस्यौदाबारे कुराकानी गर्न सोमवार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लन्डनमा यूकेका प्रधानमन्त्री किअर स्टार्मर, फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ तथा जर्मन चान्सलर फ्रेडरिक मर्जसँग भेटघाट गरे।

किएभमाथि रुससँग चाँडो सम्झौता गरिहाल्न भनेर अमेरिकाले दबाव दिँदै गर्दा युरोपेली नेताहरूले युक्रेनका लागि सुरक्षा ग्यारेन्टी हासिल गर्न अझ थप काम गर्न बाँकी रहेको प्रतिक्रिया दिएका छन्।

नेटोका अधिकारीहरूसँग भेट्न लन्डनबाट ब्रसल्स पुगेका जेलेन्स्कीले युक्रेनले थप संशोधित मस्यौदामाथि मङ्गलवार अमेरिकासँग छलफल गर्ने बताए ।

गत साता युक्रेनी अधिकारीहरूले फ्लोरिडामा लगातार तीन दिनसम्म अमेरिकी अधिकारीहरूसँग वाशिङ्टनद्वारा प्रस्तावित शान्ति योजनामा फेरबदल गराउन प्रयास गरेका थिए।

अमेरिकाले आरम्भमा प्रस्ताव गरेको योजना रुसतर्फ बढ्ता ढल्किएको ठानिएको थियो।

सोमवार लन्डन बैठकपश्चात् पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले नोभेम्बरमा प्रस्तावित प्रारम्भिक मस्यौदाबाट युक्रेनविरोधी बुँदाहरू निश्चितरूपमा हटाइएको बताएका थिए।

तर अझै पनि भूभाग हस्तान्तरणबारे चिन्ताहरू बाँकी रहेको र उक्त विषयमा सहमति भइनसकेको उनले बताए।

युक्रेनले पूर्वी क्षेत्रबाट आफ्ना फौज सम्पूर्णरूपमा फिर्ता गर्न अमेरिकाले प्रस्ताव गरेको छ। सो क्षेत्रलाई रुसले बलपूर्वक कब्जा गर्ने प्रयास गरिरहेको भए पनि सबै इलाकामा मस्कोले नियन्त्रण जमाउन सकेको छैन। त्यसको बदला रुसले अन्य क्षेत्रबाट उसका फौज फिर्ता गर्ने र युद्धविराम हुने अमेरिकाको प्रस्ताव छ।

जेलेन्स्कीका निम्ति सो विकल्प रुचिकर पटक्कै छैन। मस्कोको उद्दण्डतालाई पुरस्कृत गर्न उनी चाहँदैनन्। साथै पूर्वी क्षेत्रमा रुसले नियन्त्रण जमाए उसले त्यसको प्रयोग गरेर भविष्यमा युक्रेनमाथि थप आक्रमण गर्न सक्ने उनको चिन्ता छ।

साथै सुरक्षा ग्यारेन्टीको विषय – भविष्यमा फेरि रुसले आक्रमण नगरोस् भनेर निश्चित् गर्न – पनि समाधान भइनसकेको उनले बताए।

यूकेका प्रधानमन्त्री कार्यालयका प्रवक्ताले सबै नेताले युक्रेनलाई सघाउने अनि पुटिनमाथि चर्को आर्थिक दबाव दिएर युद्ध अन्त्य गराउने अहिले महत्त्वपूर्ण घडी आइपुगेको बताएको जनाएका छन्।

ूयुरोपेली सुरक्षाका लागि अमेरिकी अगुवाइमा हुने शान्ति वार्ताको महत्त्वबारे नेताहरूले छलफल गरे अनि हालसम्म भएका प्रगतिको समर्थन गरे,ू प्रवक्ताले विज्ञप्तिमा जनाएका छन्।

युक्रेनका निम्ति सशक्त सुरक्षा ग्यारेन्टीसहितको न्यायोचित तथा दिगो शान्तिको आवश्यकतालाई ती नेताहरूले महत्त्व दिएको विज्ञप्तिमा उल्लेख छ।

डाउनिङ् स्ट्रीटमा भएको छलफल अगावै यूकेका प्रधानमन्त्री स्टार्मरले कुनै पनि शान्ति योजनामा युक्रेनका निम्ति सुरक्षा ग्यारेन्टीको विषय आवश्यक हुने बताएका थिए।

जर्मन चान्सलर मर्जले अमेरिकी पक्षबाट पेस गरिएका योजनाका कतिपय विषयबारे सशङ्कित रहेको बताए। तर हामीले यसबारे कुरा गर्नै पर्छ। त्यसैले हामी यहाँ भेला भएका हौँ, उनले भने।

बैठकपछि फ्रान्सले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिलाउने विषयमा कामहरू थप सघनतापूर्वक अघि बढाइने बताएको छ।

शान्ति वार्ताहरूमा प्रगति सुस्त भएको खण्डमा उत्पन्न हुने निराशाकामाझ अमेरिकाले युक्रेनलाई दिँदै आएको समर्थन अन्त्य गरिदिने चिन्ता किएभ तथा युरोपभरि फैलिएको छ।

हामी अमेरिकाको साथविना अघि बढ्न सक्दैनौँ। हामी युरोपको साथविना अघि बढ्न सक्दैनौँ। त्यसैले हामीले केही महत्त्वपूर्ण निर्णयहरू गर्नु पर्ने छ, जेलेन्स्कीले लन्डनमा भने। बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर