क्वालालम्पुर, ९ कात्तिक । पूर्वी टिमोर १४ वर्ष लामो प्रतीक्षा र अभियानपछि आइतबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को ११औँ सदस्य राष्ट्रका रूपमा औपचारिक रूपमा सामेल भएको छ ।
पूर्वी टिमोरका प्रधानमन्त्री जानाना गुस्माओ मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित आसियान शिखर सम्मेलन र हस्ताक्षर समारोहमा सहभागी हुनुभयो । उहाँले अन्य आसियान नेताहरूसँग एकताको प्रतीकस्वरूप हात जोडेर सामूहिक तस्बिर खिचाउनुभयो ।
“यो केवल एउटा सपना साकार भएको होइन, यो हाम्रो लचिलोपन, दृढता र आशाले भरिएको यात्राको शक्तिशाली पुष्टि हो”, समारोहमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यो अन्त्य होइन, यो हाम्रो राष्ट्रिय यात्राको नयाँ र प्रेरणादायी अध्यायको सुरुआत हो ।”
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पूर्वी टिमोरको सदस्यतालाई ‘आसियान परिवारको पूर्णता’ भनेर व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वी टिमोरको यस समावेशले हाम्रो साझा भाग्य र क्षेत्रीय सम्बन्धको गहिरो भावनालाई पुनः पुष्टि गरेको छ । यस समुदायभित्र टिमोर–लेस्टेको विकास र यसको रणनीतिक स्वायत्तताले दृढ र स्थायी समर्थन पाउनेछ ।” हाल आसियानको अध्यक्षता मलेसियाले गरिरहेको छ ।
पोर्तुगाली नाम टिमोर–लेस्टे पनि भनिने पूर्वी टिमोर दक्षिणपूर्वी एशियाको सबैभन्दा कान्छो देश हो । यसले २४ वर्षको इन्डोनेसियाली कब्जापछि सन् २००२ मा स्वतन्त्रता प्राप्त गरेको थियो ।
देशका राष्ट्रपति जोस रामोस–होर्टाले आसियान सदस्यताका लागि लामो समयदेखि प्रयास गर्दै आउनुभएको थियो । उहाँको पहिलो कार्यकालमा सन् २०११ मा पहिलो पटक सदस्यताको औपचारिक आवेदन पेस गरिएको थियो । अब १४ वर्षपछि त्यो प्रयास सफल भएको हो ।
पूर्वी टिमोरको सदस्यतालाई मलेसियाको आसियान अध्यक्षताकालको प्रमुख उपलब्धि मानिएको छ । यसअघि सन् २०२२ मा टिमोर–लेस्टेलाई क्षेत्रीय निकायमा पर्यवेक्षकको दर्जा दिइएको थियो, तर पूर्ण सदस्यता पाउन ढिलाइका कारणहरू विविध रहे । आर्थिक, पूर्वाधार र मानव स्रोतसम्बन्धी चुनौतीहरू प्रमुख थिए ।
देश अझै पनि उच्च बेरोजगारी, गरिबी, कुपोषण र सामाजिक असमानताको समस्याबाट जुधिरहेको छ । यसको अर्थतन्त्र अत्यधिक रूपमा तेलमा निर्भर रहेको छ र अन्य क्षेत्रहरूमा विविधीकरण कमजोर छ । यस कारण कतिपय विश्लेषकहरूले आसियानको विकास एजेन्डामा टिमोर–लेस्टेले प्रभावकारी भूमिका खेल्न सक्ने क्षमतामाथि प्रश्न उठाएका छन् ।
पूर्वाधार निर्माण, शिक्षाको स्तर र प्राविधिक जनशक्तिको अभावलाई पनि प्रमुख चुनौतीका रूपमा हेरिएको छ । यी क्षेत्रहरूमा सुधार नगरेसम्म आसियानको आर्थिक समुदायमा पूर्ण सहभागिता कठिन हुने विज्ञहरूको धारणा छ ।
गत सेप्टेम्बरमा देशमा जनआन्दोलन समेत भड्किएको थियो । हजारौँ विद्यार्थी र युवा प्रदर्शनकारीहरूले संसद्का ६५ जना सदस्यका लागि टोयोटा प्राडो एसयुभी किन्ने र पूर्व सांसदहरूलाई आजीवन पेन्सन दिने योजना विरुद्ध सडकमा उत्रिएका थिए । दुई दिनसम्म चलेको प्रदर्शनपछि संसद्ले उक्त निर्णय रद्द गर्न बाध्य भएको थियो ।
त्यसपछि पनि सांसदहरूको पेन्सन योजनाप्रति व्यापक जनआक्रोश देखिएको थियो, जसले जनमतको दबाबमा संसद्लाई पुनर्विचार गर्न बाध्य बनायो ।
आसियान सन् १९६७ मा पाँच देश—इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिङ्गापुर र थाइल्यान्ड—बाट सुरु भएको सङ्गठन हो । विस्तार हुँदै जाँदा हालसम्म १० देश सदस्य रहेका थिए । सन् १९९९ मा कम्बोडिया यस क्षेत्रीय समूहमा अन्तिमपटक सामेल भएको थियो र अब २०२५ मा पूर्वी टिमोरको प्रवेशसँगै आसियान ११ सदस्यीय बनेको छ ।
पूर्वी टिमोरको यो प्रवेश केवल क्षेत्रीय एकताको दृष्टिले मात्र नभई, ऐतिहासिक रूपमा पनि महत्त्वपूर्ण मानिएको छ—किनभने यसले दक्षिणपूर्वी एसियाको भू–राजनीतिक नक्सा पूर्ण बनाएको छ । एएफपी
