काठमाडौँ, साउन ३० गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ।
आइतबार र सोमबार देशभर साधारणतया बदली रहनेछ। आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
