बैङ्कक, २२ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताउनुभएको छ ।

भेटवार्तापछि बाहिरिने क्रममा राससका विशेष प्रतिनिधिलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ । अहिलेलाई यति ।” थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच पूर्वनिर्धारित तालिकाअनुसार भेटवार्ता भएको हो । यसअघि उहाँहहरुबीच संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते भेटवार्ता भएको थियो ।

नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता दिएको बताउनुभएको छ । थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ता फलदायी रहेको बताउनुभयो ।

“हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरु विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरुमा छलफल ग¥यौँ”, सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले भन्नुभएको छ । उहाँले यसवर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरु विशेष गरी विपद् व्यवस्थापन र समुन्द्री यातायातका क्षेत्रहरुमा पनि कुरा गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षीबीच करिब ४५ मिनेट एक्ला–एक्लै भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

सोमंबुबिशु