काठमाडौँ, ५ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि आजका लागि बैठक सकिएको छ ।
यसअघि एमाले अध्यक्ष ओलीले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशासहित अघि बढाउने बताउनुभएको छ । तेस्रो केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै उहाँले लोकतन्त्रका संस्थागत रक्षा गर्नु एमालेको पनि प्रमुख जिम्मेवारी भएकाले नयाँ योजनासहित राष्ट्र, जनताका पक्षमा निरन्तर लाग्ने बताउनुभयो ।
अध्यक्ष ओलीले पार्टीको पुनःनिर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको संरक्षणलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अहिले बसिरहेका बैठक केवल निर्वाचन परिणामको समीक्षा गर्ने थलो नभई पार्टीको अवस्था, कमजोरी र भावी दिशाबारे गम्भीर आत्मसमीक्षा गर्ने अवसर भएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले निर्वाचनबाट प्राप्त नतिजाबाट शिक्षा लिँदै पार्टीभित्रका कमजोरी पहिचान गर्न, जनतासँगको सम्बन्ध अझ बलियो बनाउन तथा सङ्गठनलाई सुदृढ गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो उहाँले भन्नुभयो, “गत फागुनमा सम्पन्न भएको निर्वाचनमा एमाले कमजोर भएको छ, तर यसको जरा सुकेको छैन ।”बैठकमा विभिन्न नौ कार्यसूचिमाथि छलफल हुने छ ।
ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा आजदेखि सुरु भएकामा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि आजका लागि बैठक सम्पन्न भएको पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।
उहाँले भोलिदेखि अध्यक्ष ओलीको प्रतिवेदनमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन/तीन मिनेटका दरले समय दिएर सुझाव दिइने बताउनुभयो । भोलि बिहान ९ः०० बजे सोही ठाउँमा बैठक बस्ने छ । गत फागुनमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनपछि पार्टीको पहिलोपटक केन्द्रीय कमिटीको बैठक बसेको हो । बैठक यही असोज ७ गतेसम्म सञ्चालन हुनेछ ।
