काठमाण्डौं, ४ जेठ । दुइ जना अध्यक्ष रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पत्तै नदिई आज सो पार्टीको संसदीय दलको नेता राजेन्द्र महतो भएको जानकारी संसद सचिवालयमा गराउनुभएको छ ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टीभित्रका यावत् विवादको समाधान विधानभित्रै रहेर आपसी सहमतिमा गर्ने भनी आजै ८ बुँदे सहमति भएको थियो ।

ठाकुर र यादवबीच वर्तमान सरकारमा सहभागी नहुने र प्रतिपक्षमा नै रहने, बरु मौका मिलेको अवस्थामा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति पनि भएको थियो ।

तर त्यो सहमतिको मसी सुक्न नपाउँदै ठाकुरले यो एकल निर्णय गर्नुभएको छ । यादव पक्षले महन्थ ठाकुरको यस किसिमको कार्यशैलीको विरोध गरेको छ ।

यादव पक्षका सांसद मोहम्मद इस्तियाक राईका अनुसार सहमति पश्चात पनि त्यस्तो पहिलेको निर्णय सचिवालयमा दर्ता गराउनु भनेको पार्टीमा एकता नचाहनु हो ।

गत वैशाख ३० गते बसेको जसपाका ठाकुर पक्षीय सांसदहरू बैठकले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । त्यस बैठकमा यादव पक्षीय सांसदहरूको सहभागिता थिएन ।

त्यसैले राजेन्द्र महतोलई संसदीय दलको नेता चुनिएको भन्ने पुरानो निर्णय सच्याउने सहमति अध्यक्षद्वयबीच भएको थियो ।

जसपाको ठकुर पक्ष प्रम केपी ओलीलाई समर्थन गर्नुपर्दछ भन्नेमा छ भने यादव पक्ष ओलीलाई किमार्थ समर्थन नदिने भन्नेमा छ ।

ओलीले संसदमा विश्वासको मत लिंदा यादव पक्षले ओलीको विपक्षमा मतदन गरेको थियो । ठाकुर पक्ष तटस्थ रहेको थियो।

अब प्रमं ओलीले फेरि संसदमा विश्वासको मत लिनुपर्ने अवस्था छ ।यसअघि उहाँ विश्वासको मत नपुगेर पदमुक्त हुनुभएको थियो ।त्यतिबेला माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । केन्द्र अहिले पनि समर्थनको पक्षमा छैन ।

अब उहाँ संसदमा ठूलो दलको हैसियतले पुन प्रमं नियुक्त हुनु भएको अवस्था छ ।

यो अवस्थामा जसपाले ओलीलाई समर्थन दिन्छ वा दिंदैन वा पहिले जस्तै आधा तटस्थ र आधा विरोधमा हुन्छ भन्ने अन्यौल नै छ ।

संसदमा ठूलो दलको हैसियतले पुन प्रमं नियुक्त हुनुभएका ओलीले जसपाको केही सांसदको समर्थन विना संसदमा बहुमत सिद्ध गर्न सक्ने अवस्था छैन ।प्रमुख पतिपक्षी दल काँग्रेसले पहिलेदेखि नै ओलीको सरकारलाई समर्थन नदिने भन्दै र सोही अनुसार निर्णय गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर