
काठमाडौँ, ४ चैत: मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको ३१औं प्रमुखमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले थापालाई प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । त्यस्तै उनी २०६३ भदौ ८ गते डीएसपी बने । २०७२ साउन ८ मा एसपी बनेका उनी २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भए । त्यस्तै २०७९ असार १७ मा डीआईजी बनेका उनी २०७९ चैत ६ मा एआईजी बनेका थिए ।
भक्तपुरको तत्कालीन सिपाडोलका स्थायीवासी थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेशामा संलग्न थिए ।
प्रहरी महानिरीक्षक कुँवरको बिदाइ
गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गर्नुभएको छ ।
आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक कुँवरलाई गृहमन्त्री लेखकले बधाई दिँदै सेवा निवृत्तपछिको जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रका लागि थप काम गर्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
एआईजी टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई पनि अवकाशमा जानेछन् । भट्टराई गत फागुन १३ मा मात्र एआईजी बनेका हुन् । त्यस्तै डीआईजी ध्रुव राउत, भोला रावल र गणेश चन्दले पनि अवकाश पाएका छन् ।
महानिरीक्षक कुँवर भोलिबाट सेवा निवृत्त हुन लाग्नुभएको छ ।