भैरहवा (रुपन्देही), १७ फागुनः नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताउनुभएको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विसं २०८२ भित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभयो । नेता डा कोइरालाले महाधिवेशनपूर्व गर्नुपर्ने सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरणलगायत काममा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले २०८२ भित्र पार्टीको महाधिवेशन सकेर २०८४ को आमनिर्वाचनमा एकताबद्ध भएर पार्टीलाई विजयी बनाउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कांग्रेसका नेता शेखर कोइरालाको विद्यार्थी प्रकृति लम्सालको भैरहवास्थित घरमा पुगेर शनिबार प्रकृतिको परिवारसँग भेट गरेको कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु पोखरेलले बताउनुभयो । बुटवलमा भोलि हुने राष्ट्र निर्माणमा युवाको योगदान तथ्यमा आधारित प्रचार अभियान विषयक कार्यशाला गोष्ठी उद्घाटन गर्न कोइरालाला आज रुपन्देही पुगनु भएको थियो ।
कोइरालालाई भैरहवामा कार्यकर्ताहरुले १५ किलोको माला लगाएर स्वागत गरेका थिए । कांग्रेस महाधिवेशन नजिक आउन थालेपछि नेताहरू जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाटमा केन्द्रित हुन थालेका छन् ।
—
