काठमाडौँ, ६ फागुन :  कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

ओडिशा सरकारले यस विषयमा छानबिन गर्न उच्चस्तरीय तथ्य खोज समिति गठन गरेको छ । उक्त समितिमा गृह मन्त्रालयका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका सचिवलाई सदस्य बनाइएको छ । यो समितिले विद्यार्थीको मृत्यु र आन्दोलनरत विद्यार्थीमाथि भएको दुर्व्यवहारको छानबिन गर्नेछ । उच्च स्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानूनी र प्रशासनिक कारबाही गरिनेछ ।’

कलेजका संस्थापक, उपकुलपतिदेखि रजिस्ट्रारसम्मले उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गर्नुका साथै क्षमा मागेपछि नेपाली विद्यार्थीहरू छात्रावासमा फर्किने क्रम सुरू भएको छ ।

कलेज प्रशासनले नेपाली विद्यार्थीलाई गालीगलौज गर्ने, होस्टेलबाट अपमानपूर्ण तरिकाले निकाल्ने तीनजना कर्मचारीलाई निलम्बन गरेको तथा विद्यार्थीलाई कुटपिट गर्ने सुरक्षा गार्डलाई प्रहरीको जिम्मा लगाएको छ ।

यस मामिलामा सिद्धान्त सिग्दलको उजुरीमा आरोपी अद्विक श्रीवास्तव विरुद्ध भुवनेश्वरको इन्फोसिस प्रहरी चौकीमा भारतीय न्यायिक संहिताको धारा १०८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर