काठमाडौँ, ३० वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपाललाई जोगाउन मित्र राष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृ निकाय, गैरआवासीय नेपाली संघलगायतसँग आग्रह गर्नुभएको छ ।
उहाँले आज सामाजिक सञ्जालमार्फत नेपालमा अहिले देखिएको कोरोनाको संकट देशले आफ्नै बलबुताले पार पाउने अवस्था नदेखिएको जनाउँदै जीवन रक्षाका लागि मानवीयताका आधारमा नेपालीलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।
नेता पौडेलले अक्सिजन र अस्पतालका अभावमा उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या सयौँ पुग्न लागेकामा चिन्ता पनि व्यक्त गर्नुभएको छ ।
यसैवीच युरोपेली सङ्घ (इयु)ले नेपालका लागि रु २८ करोड २० बराबरको मानवीय सहायता परिचालन गरेको छ ।

महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै इयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तबासमा रहेका बिरामी ‘टेलिहेल्थ÷टेलिमेडिसिन’ बिरामीलाई कुन अस्पतालमा लैजाने भन्नेबारेमा तत्काल सल्लाह दिनेलगायत सेवाका लागि उक्त रकम परिचालन गरिएको ब्रसेल्सस्थित सङ्घको प्रधान कार्यालयले जनाएको छ ।

सहयोगस्वरुप प्राप्त रकमबाट अक्सिजन सिलिण्डर, अक्सिजन सङ्केन्द्रक, घरेलु उपचार सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, ‘एन्टिजेन’ परीक्षण साधन खरिद एवं आपूर्ति गरिनेछ ।

यसैगरी सङ्घको सदस्य राष्ट्र फिनल्याण्डले शल्यचिकित्सामा प्रयोग हुने २० लाखभन्दा बढी ‘मास्क’, तीन लाख ५० हजार एफएफपीटू मास्क, ५२ हजार ५०० जोर पञ्जा र ३० हजार थान एकान्तबास पोशाक नेपाललाई प्रदान गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर