बेइजिङ, २३ पुस। चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको विनाशकारी भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।
चाइना भूकम्प नेटवर्क सेन्टरले भूकम्पको केन्द्र २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री ई देशान्तरमा रहेको बताएको छ ।
हाल चिनियाँ सेनाले भूकम्पको केन्द्रबिन्दुमा स्थितिको आकलन गर्न ड्रोन तैनाथ गरेको छ ।
नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा म्याग्निट्यूड ७ मापन गरिएको उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ। चिनियाँ निकायहरूले भने उक्त भूकम्पको म्याग्निट्यूड ६.८ भएको जनाएका छन्।
यसैबीच, राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले मङ्गलबार तिब्बत स्वायत्त क्षेत्रको सिजाङमा भूकम्पको धक्का महसुस भएको जनाएको छ ।
भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा भवनहरू भत्किएका छन् भने मानिसहरू भागेर सडकमा निस्किएका थिए। सामाजिक सञ्जालहरूमा राखिएका भिडिओहरूमा लात्से नगरनजिकै पसलहरू भत्किएको देख्न सकिन्छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार दर्जनौँ मानिसहरू घाइते भएका छन्।