काठमाडौ, २३ मंसिर । सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अलअसदबाट सिरिया मुक्त भएको घोषणा गरेका छन्।
विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका छन्। ।
विवरणहरूमा असदले एक विमानमार्फत् दमास्कस छाडेको बताइएको छ। तर उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको छैन।
सिरियाको अवस्थाबारे विद्रोही फौजले गरिरहेका कैयौँ नयाँ घोषणामध्ये एकमा राष्ट्रपति असद देश छाडेर भागेको जनाइएको छ।
विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई पूर्ण रूपबाट स्वतन्त्र पारेको बताएको केही घण्टामा उनीहरू राजधानी प्रवेश गरेका हुन्।
विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो।
सिरियाका विपक्षी नेता हदि अल(बहराले अरबीक समाचार संस्था अलअरबीयालाई असदको शासन ढलेको र सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको बताएका छन्।
सिरियाली आन्दोलन र विपक्षी फौजहरूको एक राष्ट्रिय गठबन्धनको नेतृत्व गरिरहेका बहराले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन्।
ूहाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू जबसम्म तपाईँ अरू कुनै नागरिकविरुद्ध हतियार उठाउनुहुन्न र जबसम्म तपाईँ आफ्नो घरमा बस्नुहुन्छ, तपाईँ सुरक्षित हुनुहुन्छ, उनले एक्समा लेखेका छन्।
ूत्यहाँ बदला वा प्रतिशोध र मानव अधिकार उल्लङ्घनको कुनै घटना हुने छैन। मानिसको मर्यादाको सम्मान गरिनेछ र उनीहरूको मर्यादा सुरक्षित गरिनेछ।
राष्ट्रलाई सम्बोधन गर्दै सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले आफू पदमा रहिरहे देशमा सरकारको निरन्तरता कायम राख्ने काम गर्न सघाउन तयार रहेको बताएका छन्।
उनले बशर अलअसद यतिखेर कहाँ छन् भन्ने जानकारी आफूलाई नभएको बताए।
नयाँ चरणको सरकारविरोधी हमलाको नेतृत्व गरिरहेको इस्लामवादी विद्रोही समूह हायात तहरिर अल–शामका नेताले टेलिग्राममा सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन्।
अबु मोहम्मद अल जुलानीले आधिकारिक रूपमा हस्तान्तरण नहुँदासम्म ती निकायहरू प्रधानमन्त्रीको निगरानीमा रहने बताएका छन्।
आफ्नो जितलाई ऐतिहासिक क्षण बताउँदै उनले आत्मसमर्पण गर्नेलाई हानि नपुर्याउन आफ्ना मानिसहरू आह्वान गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडन र उनका अधिकारीहरूले ूसिरियाका अभूतपूर्व घटनाक्रमूको निगरानी गरिरहेको ह्वाइटहाउसले जनाएको छ।
बाइडन प्रशासन आफ्ना क्षेत्रीय साझेदारहरूसँग निरन्तर सम्पर्कमा रहेको ह्वाइटहाउसको विज्ञप्तिमा जनाइएको छ।
राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले यसअघि सोसल मिडियामा एक पोस्ट लेख्दै सिरियाको युद्धसँग अमेरिकाको कुनै सरोकार नहुनुपर्ने बताएका थिए।
उनको भनाइ थियोः त्यो हुन दिनुस्। यो हाम्रो लडाइँ होइन।
दमास्कसमा नियन्त्रण गुमाएसँगै असद परिवार र सिरियन बाथ पार्टीको झण्डै आधा शताब्दी लामो शासन अन्त्य भएको छ।
सन् २००० मा आफ्ना बुवालाई पछ्याउँदै सत्तामा आउँदा बशर अल असद सुरुमा सुधारवादी नेताका रूपमा थिए।
सन् २००० देखि सिरियामा शासन गर्दै आएका राष्ट्रपति बशर अल–असदको सत्ता सन् २०११ को अरब स्प्रिङमा त जोगियो, तर देश गृहयुद्धमा डुब्यो
राष्ट्रपति बशर अल–असदको सत्ता सन् २०११ को अरब स्प्रिमा त जोगियो, तर देश गृहयुद्धमा डुब्यो
तर अरब स्प्रिङका बेला सन् २०११ मा प्रदर्शनकारीहरूविरुद्ध निर्मम रूपमा उत्रिएपछि उनको त्यस्तो छवि मेटिएको थियो।
सुरुमा नागरिक समाजका तर्फबाट भएको उक्त विरोधमा पछि कट्टर इस्लामवादी समूहहरू हाबी भए र सिरियामा गृहयुद्ध सुरु भयो।
उनी विद्रोही पकडका क्षेत्रमा रासायनिक अस्त्रको प्रयोग र अन्य विभिन्न अत्याचारसँग जोडिएका छन्।
उनले यो द्वन्द्व देशलाई टुक्र्याउन चाहने पश्चिमी शक्तिहरूले उक्साएको दाबी गर्ने गर्थे।बिबिसी
