काठमाण्डौं, २६ बैशाख । गण्डकी प्रदेशका प्रमुखले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई आजबाट तीन दिनको म्याद दिई नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयको तर्फबाट प्रवक्ता चण्डी प्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्ति अनुसार, त्यस प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीता कुमारी पौडेलले आजै त्यस्तो आह्वान गर्नुभएको हो ।

गुरुङलाई अर्को सरकार गठन नभएसम्म काम चलाउन दिइएको छ ।

गत बैशाख २ गते दर्ता भएको अविश्वास प्रस्ताव छलफल भैसकेर १५ गतेको लागि मतदानको कार्यक्रम राखिएको थियो । तर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सोही दिन बेपत्ता भएकाले बैठक अनिश्चतकालको लागि स्थगित भएको थियो ।

त्यसपछि प्रदेश सभा बैठक बस्न सकेको थिएन ।

यही बीचमा वैशाख २३ मा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि २७ गते बिहान ११ बजे बैठक बस्ने र अविश्वासको प्रस्तावउपर मतदान गराउने निर्णय गरेको थियो ।

तर अब मुख्यमन्त्री गरुङले राजिनामा दिइसक्नुभएकोले गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ ।

गुरुङ विरुद्धको अविश्वास प्रस्ताव दर्ता गर्दा नै त्यहाँ काँग्रेसका सांसद कृष्णचन्द्र नेपालीको नाम मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । त्यतिबेलाको दलहरूबीचको सहमति कायमै रहे अब गण्डकी प्रदेशको मुख्यमन्त्री काँग्रेसका नेपाली बन्ने पक्का देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर