काठमाडौ, २८ असोज । अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।
पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
उनीहरूलाई कुनै देशहरू किन धनी र कुनै देशहरू किन गरिब छन् भन्ने विषयमा गरेको कामका लागि पुरस्कार प्रदान गर्न लागिएको हो।
संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति ती अर्थशास्त्रीहरूलाई पुरस्कृत गर्न लागिएको समितिले जनाएको छ।
यी अर्थशास्त्रीहरूले विशेषगरी युरोपेली उपनिवेशको प्रभावमा केन्द्रित भएर अध्ययन गरेका छन्। त्यसले अपेक्षाकृत धनी देशहरूलाई गरिब बनाउने खालको प्रणाली विकास गरेको देखाएको छ।
यस विधामा अहिलेसम्म ५६ पटक पुरस्कार दिइएकोमा ९६ जना पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा तीन जना महिला छन्।
सन् १९६९ देखि यस विधामा पुरस्कार दिन थालिएको हो।
भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्वीडनको स्टकहोममा प्रदान गरिन्छ।
नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ।
प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोना (९,९०,००० अमेरिकी डलर) पाउँछन्।
यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ। उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ।
नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ। बीबीसी
