काठमाडौं, २७ जेठ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेङम्बेले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यसलाई फिर्ता ल्याउने विषयमा नेपाल सरकारको स्पष्ट धारणा आउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते संसद्मा प्रश्नोत्तरका क्रममा राखेको धारणाबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्ट पारेपछि नेता आङदेङम्बेले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्ने बताउनुभयो ।

आङदेङम्बेले सरकारले गरेका राम्रा काममा विपक्षीको साथ रहने तर देशको भूमिका विषयमा अस्पष्ट जवाफ दिने प्रवृत्ति गलत भएको बताउनुभयो । कांग्रेसले राष्ट्रिय स्वाभिमान र सङ्कटका समयमा पार्टीको लाभ हानी नहेरी देशको लाभ हानी हेरेर निर्णय गर्दै आएको स्मरण गर्दै अहिले सरकारका सवालमा पनि त्यही नीति लागु हुने स्पष्ट गर्नुभयो ।

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा
नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले नेपालले भारतको भूभाग मिचेको प्रमाण नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि उहाँले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन् गर्नुपर्नेमा जोड दिनुभयो । परराष्ट्रमन्त्रीको जवाफबाट आफूहरू सन्तुष्ट नभएको र राष्ट्रियता रक्षाको सङ्घर्ष भिन्न तरिकाले जारी राख्ने उहाँको भनाइ छ ।

नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले यस्तो अभिव्यक्ति सच्याउन आफ्नो पार्टीका नेता निर्देशन दिन सक्ने तथा सभामुखले त्यस्ता अभिव्यक्ति संसद्को अभिलेखबाट हटाएमा अत्यावरोध अन्त्य हुने धारणा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रमेशकुमार हमालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षाजस्ता विषयमा संसद् विभाजित भएर प्रस्तुत हुनु दुःखद् भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले राष्ट्रिय स्वाभिमान, भू–अखण्डता र सीमासम्बन्धी विषयमा राजनीतिक दलहरूबीच साझा धारणा र एकता आवश्यक रहेको बताउनुभयो । सांसद हमालले नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्नुभयो ।

“राष्ट्रियताको सन्दर्भमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति फिर्ता हुनुपर्छ”, उहाँले भन्नुभयो, “संसद्को रेकर्डमा रहेका ती शब्दहरू पनि हटाइनुपर्छ ।” उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको दोहो¥याउँदै ती क्षेत्रमाथिको नेपालको दाबी ऐतिहासिक र तथ्यगत रूपमा स्पष्ट रहेको बताउनुभयो । उहाँले नेपालको आत्मसम्मान, राष्ट्रिय गौरव र सार्वभौमसत्ताको संरक्षण सबै राजनीतिक शक्ति र राज्य संयन्त्रको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर