काठमाण्डौं, २३ बैशाख । नेपालका लोकप्रिय गायक प्रेमध्वज प्रधानको आज बिहीबर निधन भएको छ । उहाँ ८५ वर्षको हुनुहुन्थ्यो ।
सुन्धारास्थित काठमाडौं न्युरो अस्पतालमा उपाचारको क्रममा उहाँको निधन भएको हो।
आज बिहान छातिमा समस्या आएर सास फेर्न केही कठीन भएपछि उहाँलाई सो अस्पतालमा लगिएको थियो ।
उहाँको जन्म विसं १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो ।
२००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उहाँको संगीत यात्रा औपचारिक रुपमा सुरु भएको थियो।
घुम्तीमा नआउ है.., नमान लाज यस्तरी.., पर लैजाउ फूलहरु.., जस्ता उहाँले गाएका कैयौं गीतहरू नेपाली श्रोताबीच निकै लोकप्रिय छन् । उहाँले नेपाली चलचित्र माइतीघर, जीवनरेखा, मायालु, बद्लिदो आकाश, जीवन संघर्ष आदिमा स्वर दिनुभएको थियो ।
