काठमाडौँ, २३ वैशाख  ।  कोरोना संक्रमण बढ्दै गएपछि रोकथामका लागि एकपछि अर्को गर्दै निषेधाज्ञा गर्ने जिल्लाको संख्या ५६ पुगेको छ।गृह मन्त्रालयको बुधबार साँझ सम्मको विवरणअनुसार निषेधाज्ञा घोषित जिल्लाको संख्या ५६ पुगिसकेको छ।

आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएको छ । बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ

उपत्यका निषेधाज्ञामा थप कडाइ,:  
काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो ।

अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र) भने बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइने छ । खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरूपमा पालना गर्नुपर्ने छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्दै आज बिहानैदेखि लागू हुने गरी आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

यसअघि वैशाख १६ देखि २२ गते (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो । आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ ।

नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ ।

यसपालि भने फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार÷व्यवसाय एवं कवाडी सङ्कलनमा समेत रोक लगाइएको छ । आदेशमा उपत्यकाबाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्यरूपमा १० दिनको क्वारेन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस चाहिने भएको छ ।

आदेशामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकूद सञ्चालन गर्न पाइने छैन ।

सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन ।

अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तिमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ । अनिवार्यरूपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्न आदेशमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर