काठमाडौँ, २८ वैशाख : नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा ७५ सदस्यीय नयाँ नेतृत्व घोषणा भएको छ । सुवेदी यसअघि महासङ्घको महासचिव हुनुहुन्थ्यो ।
यही वैशाख १० गतेदेखि सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि नयाँ नेतृत्व घोषणामा विलम्ब भएको थियो । महासङ्घको एक मुख्य समूह नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले महाधिवेशनमा भाग नलिएपछि विवाद भएको हो ।
महासङ्घको सहअध्यक्षमा नानुमाया पराजुली चयन भएका छन् । उपाध्यक्षमा गंगा पौडेल, जयानन्द ठाकुर, हरेन्द्रप्रसाद चौरसिया, पुष्पराज कुँवर, विक्रम झा, देवीदत्त पौडेल चयन भएका छन् । त्यस्तै उपमहासचिव अर्थतर्फ मदनराज जोशी चयन भएका छन् । अर्का उपमहासचिवमा गुरुप्रसाद पौडेल र पुष्कर सापकोटा चयन भएका छन् ।सचिवहरूमा कल्पना पनेरु, केशव राज रेग्मी, अर्जुन नगरकोटी, जगदीश शाह, लालबाबुप्रसाद जोशी, हरिप्रसाद जोशी र सुरेश शाह सोमार चयन भएका छन् ।
विधानविपरीत एक पक्षीय ढङ्गले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै सङ्गठनले भाग लिएको थिएन । सहमति जुट्न नसकेपछि सङ्गठनको कोटामा महासचिवलगायत ११ पद खाली राखेर महासङ्घको नेतृत्व चयन गरिएको र सङ्गठनलाई सहमतिमा ल्याउन वार्ता समिति गठन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
