गण्डकी, ६ वैशाख । सत्यनिरुपण तथा मेलमिलाप आयोगले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी गरेको छ ।
आयोगद्वारा आज पोखरामा आयोजित छलफल एवं अन्तक्रियामा आयोगका अध्यक्ष गणदत्त भट्टले सो जानकारी दिनुभएको हो ।
उहाँले २०५२ साल फागुन १ गतेदेखि २०६३ मङ्सिरसम्मका कूल ६३ हजार ७१८ मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।
आयोगमा आफूहरूले जिम्मेवारी पाएसँगै निरन्तर काम गरिएको जनाउँदै उहाँले विश्वव्यापी फैलिएको कोरोना महामारीले आयोगका काम कारवाहीमा पनि केही न केही असर पारेको स्पष्ट पार्नुभयो ।
आयोगले ७४७ मुद्दामा निर्णय गरिसकेको जनाउँदै अध्यक्ष भट्टले मुद्दाको सुनुवाइ हुने र पीडकले छुटकारा नपाउने विश्वास व्यक्त गर्नुभयो ।
द्वन्द्वपीडितलाई परिचयपत्र प्रदान गर्ने प्रक्रिया पनि थालिएको जानकारी दिँदैै उहाँले उक्त परिचयपत्रका आधारमा राज्यबाट प्रदान गरिने सेवासुविधाको सुनिश्चितताका लागि पनि पहल गरिएको स्पष्ट पार्नुभयो । भट्टका अनुसार गण्डकी प्रदेशमा हालसम्म ३४ जनालाई परिचयपत्र प्रदान गरिएको छ ।
