चीन, २ वैशाख । चीनका केही स्थानमा परम्परागत रूपमा शव गाड्ने चलनलाई प्रतिबन्ध लगाइएको छ ।
मृत्युपछि आफ्नो शव जलाउनुको सट्टा गाडिओस् भनेका एक व्यक्तिको इच्छा पूरा गर्न चीनमा अर्का व्यक्तिको अपहरणपछि हत्या भएको पाइएको छ ।
दक्षिणपश्चिमी चीनका ती व्यक्तिले सन् २०१७ मा क्यान्सरका कारण मृत्यु हुनुअघि आफ्नो शव परम्परागत रूपमा समाधिस्थ गरिदिन आफ्नो परिवारलाई आग्रह गरेका थिए । तर चीनका केही स्थानमा शव गाड्न पाइँदैन ।
नियमानुसार दाहसंस्कार गर्नका लागि उनको परिवारले ती व्यक्तिको शवको साटो अर्कै शव खोज्ने जुक्ति निकाले । त्यसका लागि अर्को शव जोहो गर्न एक व्यक्तिलाई परिचालन गरे ।
शोकाकुल परिवारलाई वैकल्पिक शव उपलब्ध गराउने ती व्यक्तिले परिवारजनलाई थाहै नदिई अर्का एक व्यक्तिको हत्या गरिदिएछन् ।
पैसा दिएर शव खोज्ने काममा खटाइएका ती व्यक्तिले आफ्नो नाम हुआङ भनेर परिचय दिएका थिए ।
हत्याको अभियोगमा उनलाई सन् २०२० को सेप्टेम्बरमा तत्काल लागु नहुनेगरी मृत्युदण्डको सजाय सुनाइयो ।
सन् २०१७ मै हत्या भएको भए पनि सो घटनासम्बन्धी एउटा लेखले गत साता अनलाइनमा धेरैको ध्यान तानेपछि चर्चामा आएको छ ।
अदालती कागजपत्रका अनुसार जलाउनका निम्ति शव उपलब्ध गराउन लागि हुआङलाई सन् २०१७ मा उक्त परिवारले पैसा दिएको थियो ।
उक्त परिवार अहिले ग्वान्जोङ प्रान्तको शान्वेई नगरमा बस्छ जहाँ मृतकको शव जलाउनुपर्ने नियम छ ।
उक्त परिवारले वैकल्पिक शव जलाएर आफ्नो प्रियजनको पार्थिव शरीर परम्परागत रूपमा शव समाधिस्थ गर्ने योजना बनाएको थियो ।
त्यसका लागि हुआङले डाउन्स् सिन्ड्रोम नामक जन्मजात रोग लागेका एक व्यक्तिको हत्या गरिदिएर शव उपलब्ध गराइदिए ।
सडकमा फोहोर टिपिरहेका एक सुस्त मनस्थितिको व्यक्तिलाई देखेपछि हुआङले उनलाई फकाएर आफ्नो कारमा चढाएको र अचेत नहुन्चेल मदिरापान गराएको खुलेको छ । अचेतावस्थामै उनको मृत्यु भयो ।
त्यसपछि ती पीडितको शवलाई एउटा पेटिकामा राखेर उनले आफूलाई शव खोज्ने जिम्मेदारी दिएको परिवारलाई बुझाइदिए ।
उक्त परिवारले हुआङलाई १,०७,००० युआन (झन्डै १९ लाख नेपाली रुपैयाँ) दिएका थिए । त्यसमध्ये आरोपितले ९०,००० युआन पाएका थिए भने बाँकी रकम बिचौलियाको पोल्टामा गएको थियो ।
त्यसपछि उक्त परिवारले शवपेटिका फेरेर वैकल्पिक शवको दाहसंस्कार गरिदियो भने आफ्नो प्रियजनको शव गाडिदियो ।
सन् २०१७ मा ती पीडित व्यक्ति हराएको भन्दै औपचारिक रूपमा खोजी सुरु भयो ।
उक्त अपराधबारे सत्य तथ्यबाहिर ल्याउन र आरोपित फेला पार्न प्रहरीलाई दुई वर्षभन्दा बढी समय लाग्यो ।
सन् २०२० को सेप्टेम्बर महिनामा हुआङलाई निलम्बित मृत्युदण्डको फैसला सुनाइयो जसविरुद्ध उनले पुनरवलोकनको निवेदन दिए ।
ग्वान्जोङ उच्च जनअदालतले त्यसलाई सन् २०२० को डिसेम्बरमा खारेज गरिदियो र फैसला सदर गरिदियो ।
यसको अर्थ यदि दुई वर्षमा उनले फेरि अर्को अपराध गरेनन् भने उक्त सजायलाई आजीवन कारावासमा परिणत गरिनेछ ।
हुआङलाई पैसा दिएर शव खोज्न लगाउने परिवारलाई “शवप्रति अनादर” जनाएकोमा दोषी ठहर गरिएको छ । तर उनीहरूले कुनै सजाय पाएनन् । त्यसको सट्टा जरिवाना तिर्नुपरे वा नपरेकोबारे पनि स्पष्ट भएको छैन ।
चीनमा शव गाड्ने चलनलाई मन पराइन्छ । अन्तिम संस्कार तथा शवपेटिकाका लागि ठूलो रकम खर्च गर्नुलाई आफ्ना मृतकप्रति आदर गरिएको ठानिन्छ ।
तर चीनले शव गाड्ने चलन छोड्नुपर्ने पक्षमा अभियान चलाइरहेको छ र कतिपय क्षेत्रमा त्यसमाथि प्रतिबन्ध नै लगाइसकिएको छ ।
त्यसो गर्नुको उद्देश्य शव गाड्नलाई प्रयोग हुने भूमि जोगाउनु र तडकभडकपूर्ण अन्तिम संस्कारलाई निरुत्साहित गर्नु रहेको छ ।
शव गाड्ने परम्परागत चलनमा जोड दिने गरिएकोले खासगरी चीनका ग्रामीण क्षेत्रमा शव परिवर्तन गर्ने कुरा पहिला पनि नसुनिएको भने हैन । बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर