काभ्रेपलाञ्चोक, ३० असोजः रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण एकिन गर्न जिल्लास्थित स्थानीय तहलाई प्रक्रिया र समयसीमा तोकेको छ ।

विभिन्न काम एवं भ्रमणका सिलसिलामा त्यहाँ पुगेका जिल्लाका बेपत्ता नागरिकको कानुनी अवस्था एकिन गर्न सरकारले जारी गरेको विशेष प्रक्रियाअनुसार विवरण सङ्कलन तथा प्रमाणीकरण गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोकले मङ्गलबारदेखि भोटेकोशी बाढीमा बेपत्ता भएकाको आधिकारिक विवरण एकिन गर्ने विशेष प्रक्रिया, २०८३ अनुसार काम अघि बढाउने निर्णय गरेको जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रियाअनुसार बेपत्ता व्यक्तिहरूको स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र प्राधिकरणमार्फत विवरण एकिन गरिनेछ । यसका लागि बिहीबारदेखि सम्बन्धित स्थानीय तहले वडा कार्यालयमार्फत बढीमा पाँच दिनको समय दिएर निवेदन आह्वान गर्ने व्यवस्था गरिएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ । परिवारका सदस्य नभएको अवस्थामा भने स्थानीय प्रहरी र वडा सचिवको रोहबरमा सर्जमिन मुचुल्का तयार गरिनेछ । यस्तै परिवारका सदस्य नभएको हकमा वडाध्यक्षले वडासचिव र स्थानीय प्रहरीको रोहबरमा सर्जमिन मुचुल्का तयार गरी वडामा निवेदन पेस गर्नुपर्ने, वडा समितिले प्राप्त निवेदनमाथि तुरुन्त जाँचबुझ गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिस गर्ने र सोही समितिले बेपत्ता व्यक्ति एकिन गर्ने निर्णय गरिएको छ ।

प्राप्त निवेदन तथा विवरणमाथि स्थानीय तहले तीन दिनको दाबीविरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने व्यवस्था रहेको अधिकारीको भनाइ छ । त्यसपछि समितिले पाँच दिनभित्र निर्णय गरी विवरण प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउने व्यवस्था गरिएको अधिकारीले बताउनुभयो । यस प्रक्रियाबाट बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण एकिन गरी उनीहरूको कानुनी अवस्था निर्धारण गर्ने बाटो खुल्ने बताइन्छ ।

प्रजिअ अधिकारीका अनुसार नेपाल राजपत्रमा असोज २३ गते प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र विशेष प्रक्रिया, २०८३ अनुसार विवरण प्रमाणीकरणको काम अघि बढाउन लागिएको हो । सम्बन्धित वडा कार्यालयहरूले बेपत्ता व्यक्तिका सम्पर्क व्यक्तिको विवरण कात्तिक ११ भित्र अनिवार्य रूपमा पालिकामा पेस गर्नुपर्ने जनाइएको छ । त्यसैगरी, अध्यादेश र विशेष प्रक्रियाअनुसार स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित कात्तिक १८ भित्र विवरण जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्नेछ । स्थानीय तहबाट तोकिएको समयभन्दा अगाडि नै विवरण प्राप्त भएमा कात्तिक १८ अगावै बाँकी प्रक्रिया थालिने प्रजिअ अधिकारीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोकका अनुसार जिल्लाका ३७ सम्पर्कविहीन छन् भने चार जनाको मृत्यु पुष्टि भइसकेको छ । त्यसबेला बेपत्ता भएका चार जना परिवारको सम्पर्कमा आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर